डडेल्धुरा: अमरगढी नगरपालिका-५ खलंगास्थित आइन्स्टाइन पब्लिक स्कुलले आन्तरिक प्रतिभा पहिचान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
‘प्रतिभाको खोजी, उज्ज्वल भविष्यको तयारी’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूको बहुआयामिक क्षमता उजागर गरिएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा पहिचान गर्ने उद्देश्यसहित यहीँ पुस २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा खेलकुद, शैक्षिक, साहित्यिक तथा सांस्कृतिक विधाका विविध प्रतियोगिताहरू समावेश गरिएका थिए। कार्यक्रमअन्तर्गत खेलकुद, हाजिरजवाफ, कबड्डी, भलिबल, कराते, क्रिकेट, चेस, खो–खोलगायतका खेलकुद गतिविधिहरू सञ्चालन गरिएका थिए।
यसैगरी, नाटक, नृत्य, निबन्ध लेखन, कविता वाचन, चित्रकला जस्ता सृजनात्मक तथा साहित्यिक विधामा पनि विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै उनीहरूमा आत्मविश्वास, अनुशासन, सहकार्य र नेतृत्व क्षमता विकास गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल रामप्रसाद अवस्थीले यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भविष्यमा पनि यस्ता सिर्जनात्मक र प्रतिस्पर्धात्मक गतिविधिलाई निरन्तरता दिइने बताए।
कार्यक्रमअन्तर्गत भएका सबै गतिविधिमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको र उनीहरूले आफ्नो प्रतिभा खुलेर प्रस्तुत गरेको उनले बताए। उनले भने, ‘कक्षाकोठामा सीमित शिक्षाभन्दा बाहिर विद्यार्थीको वास्तविक प्रतिभा यस्ता प्रतियोगिताबाट बाहिर आउँछ। यसले उनीहरूको उज्ज्वल भविष्यको आधार तयार गर्छ।’
कार्यक्रम अवधिभर विद्यालय परिसर उत्साह, प्रतिस्पर्धा र सिर्जनात्मकताको केन्द्र बनेको थियो। खेलकुदका मैदानदेखि कला र साहित्यका मञ्चसम्म विद्यार्थीहरूले आफ्नो सीप प्रस्तुत गर्दा अभिभावक र शिक्षकहरू पनि निकै उत्साहित देखिन्थे। विविध विधामा उत्कृष्ट प्रस्तुति गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल पनि प्रदान गरिएको छ।
विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता प्रतिभामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। आइन्स्टाइन पब्लिक स्कुलको यस प्रयासले जिल्लामा गुणस्तरीय र व्यवहारिक शिक्षातर्फ सकारात्मक सन्देश प्रवाह गरेको बताइन्छ।