डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाभित्र अवैधरूपमा रहेका हातहतियार तथा खरखजना बुझाउन आग्रह गरेको छ।
प्रशासनले सोमवार एक सार्वजनिक सूचना जारी गर्दै अवैधरूपमा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो। प्रशासनले जारी गरेको सूचनाअनुसार जिल्लामा रहेका कुनै पनि व्यक्ति वा समूहसँग अवैधरूपमा राखिएका हातहतियार माघ १८ गतेभित्र जिल्ला प्रहरी कार्यालय डडेल्धुरा वा नजिकको प्रहरी इकाईमा बुझाउनुपर्नेछ।
तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन यस्ता कदम आवश्यक रहेको बताए।
निर्वाचनका बेला शान्ति, सुरक्षा र नागरिकको विश्वास कायम राख्न अवैध हतियार नियन्त्रण गर्नु अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ। प्रशासनले सबै नागरिकलाई निर्वाचन प्रक्रियामा सहयोग गर्न र अवैध हातहतियार स्वेच्छाले बुझाएर कानूनी झन्झटबाट बच्न आग्रह पनि गरेको छ।
डडेल्धुराप्रशासनको सार्वजनिक सूचना–
