Radio Unity 92.2MHz

अजयमेरु गाउँपालिकामा भूकम्प प्रतिरोधी घर निर्माण तथा रेट्रोफिट तालिम सुरु

डडेल्धुरा: अजयमेरु गाउँपालिकाका डकर्मी तथा गाउँपालिकाका प्राविधिकहरूका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण तथा पुराना घरहरूको रेट्रोफिटसम्बन्धी सातदिने तालिम सुरु भएको छ।

अजयमेरु गाउँपालिका डडेल्धुरा र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आयोजना तथा जिओहजार्ड इन्टरनेशनलको सहयोगमा शुक्रवारदेखि तालिम सुरु भएको हो।

उक्त तालिममा अजयमेरु गाउँपालिकाका छ वटै वडाबाट २५ जना डकर्मी तथा गाउँपालिकाका सबै प्राविधिकको सहभागिता रहेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले जानकारी दिए।

तालिममार्फत भूकम्पीय जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षित, दिगो तथा मापदण्डअनुसारको घर निर्माणसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

तालिममा भूकम्प प्रतिरोधी संरचनाको डिजाइन, निर्माणका आधारभूत सिद्धान्त, सामग्रीको सही प्रयोग, निर्माण प्रक्रियामा अपनाउनुपर्ने सावधानी तथा पुराना संरचनालाई मजबुत बनाउने (रेट्रोफिट) प्रविधिबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

गाउँपालिकाले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गरी सुरक्षित आवास निर्माणलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तालिम आयोजना गरेको अध्यक्ष भट्टले बताए। तालिम सफलतापूर्वक सम्पन्न भएपछि स्थानीय क्षेत्रमा भूकम्पीय जोखिम न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।

   

सम्बन्धित पाेष्टहरु
Loading...