डडेल्धुरा: आगामी प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा नेकपा (एमाले) ले पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको छ।
जिल्ला कमिटी बैठकबाट यसअघि सिफारिस गरिएका केन्द्रीय सदस्य पठानसिंह बोहरा र संविधानसभा सदस्य ज्ञानु गैरेलाई हटाउँदै पार्टीले अन्ततः स्नेहीलाई टिकट दिएको हो।
जिल्लास्तरमा देखिएको व्यापक सहमति र संगठनात्मक सन्तुलनका आधारमा स्नेहीको नाम टुंग्याइएको एमाले स्रोतले जनाएको छ। पूर्वराष्ट्रियसभा सदस्यसमेत रहेका स्नेही डडेल्धुरामा अनुभवी र सबै पक्षसँग समन्वय गर्न सक्ने नेताका रूपमा चिनिन्छन्।
पार्टीभित्र देखिएको आन्तरिक रस्साकस्सीका बीच अन्तिम निर्णय स्नेहीको पक्षमा आएपछि डडेल्धुरामा एमालेको उम्मेदवारी स्पष्ट भएको छ। जिल्लाको परशुराम नगरपालिका घर भएका उनी स्वच्छ छवि र सालीन नेताको रूपमा कार्यकर्ता माझ परिचित छन्।