डडेल्धुरा: नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने हो भने आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
‘डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने, वर्तमान समयको माग र पदचाप अनुसार मेरो उम्मेदवारी रहनेछ’, इन्जिनियरसमेत रहेका भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाको साथसहित नेपाली कांग्रेसको तर्फबाट रुख चिह्न र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु ।’
उनले कांग्रेसले आफूलाई वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने विश्वास लिएको समेत उल्लेख गरेका छन्।
‘डडेल्धुराका जनताको मन र मत जितेर जनताको सेवकका रूपमा काम गर्ने मेरो दृढ संकल्पसहितको इच्छाशक्तिलाई डडेल्धुराका जनताले अत्यधिक मत दिएर मप्रतिको भरोसालाई जीवन्त राख्नुहुनेछ भन्ने विश्वास लिएको छु’, उनले भनेका छन्।
भट्टले लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशील रहेका छन्। उनले बीई सिभिल इन्जिनिर र मास्टर्स वाटर रिसोर्स इन्जिनियरिङमा गरेका छन्।
भट्ट इन्जिनियरिङ क्षेत्रमा समेत लामो समयदेखि काम गरिराखेका र कांग्रेसभित्र सुधार अभियान (यू-४०) मा जोडिएर युवा आन्दोलनको नेतृत्व समेत गरेका व्यक्ति हुन्।