Radio Unity 92.2MHz

सागर ढकालले डडेल्धुराबाट चुनाव नलड्ने

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने स्पष्ट गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकै बेला ढकालले डडेल्धुराबाट नलड्ने निर्णय गरेका हुन्।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै उल्लेख्य मत ल्याएका ढकालले अब भने डडेल्धुरालाई ‘मिसन पूरा भएको क्षेत्र’ का रूपमा व्याख्या गरेका छन्।

‘डडेल्धुरामा मैले जे देखाउन खोजेको थिएँ, त्यो पूरा भयो,’ ढकालले भने, ‘रूपान्तरण र पुस्तान्तरणको एजेन्डा स्थापित भयो। निर्वाचन आयोगको पछिल्लो निर्णयले त्यो अभियान सफल भएको पुष्टि गर्‍यो।’

अब उनी गुल्मी वा रूपन्देहीमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। ‘सम्भवत: गुल्मी–१ बाट उम्मेदवारी दिन सक्छु,’ उनले भने, ‘रूपन्देहीका क्षेत्रमा पनि छलफल भइरहेको छ, तर अन्तिम टुंगो लागिसकेको छैन।’

कांग्रेस सभापति देउवाको सन्दर्भमा ढकालले सम्मानजनक टिप्पणी गर्दै डडेल्धुराबाट पछि हट्ने निर्णय लिएको बताए। ‘उमेरका हिसाबले अब उहाँले आराम गर्ने बेला आएको छ,’ उनले भने, ‘अनावश्यक टकरावभन्दा पुस्तान्तरणको सन्देश दिनु नै उपयुक्त ठानेँ।’

ढकालले आफूले युवामा जोश मात्र होइन, होस पनि छ भन्ने प्रमाणित गर्न खोजेको बताए। ‘अहिले जोश देखाइसकियो, अब होस पुर्‍याउने समय हो,’ उनले थपे, ‘पुस्तान्तरणको माग सफल भएको छ।’ डडेल्धुराबाट सुरु भएको ढकालको राजनीतिक यात्राले अब लुम्बिनी प्रदेशतर्फ मोड लिने संकेत गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...