डडेल्धुरा: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचन आयोगको निर्णयविरुद्ध विरोध प्रदर्शन भएको छ।
आयोगले ‘देउवा नेतृत्वको कांग्रेसलाई आधिकारिकता नदिने’ निर्णयको विरोधमा कांग्रेसनिकट संगठनहरूले आइतबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा अगाडि प्रदर्शन गरेका हुन्।
आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवाको गृहजिल्ला डडेल्धुरामा व्यापक असन्तुष्टि फैलिएको छ। जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिका–५ तुफानडाँडामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयबाट नारा लगाउँदै निस्किएका नेता–कार्यकर्ताहरू जिल्ला निर्वाचन कार्यालयसम्म पुगेका थिए।
उनीहरूले निर्वाचन आयोगको निर्णय मान्दैनौँ भन्दै निर्वाचन कार्यालयअगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। थापालाई सभापतिको मान्यता दिएको दुई दिनपछि जिल्लामा देउवापक्षीय कांग्रेस सडकमा आएको हो। नेपाल तरुणदल डडेल्धुराको आयोजनामा भएको घेराउ कार्यक्रममा सहभागीहरूले निर्वाचन आयोगको निर्णय लोकतन्त्र र जनमतको अपमान भएको दाबी गरेका थिए।
तरुणदलका जिल्ला सभापति करन बोहराले निर्वाचन आयोगको निर्णय लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको आरोप लगाए। माग सुनुवाइ नभए मंगलबारदेखि झनै कडा र व्यापक आन्दोलन सुरु गर्ने उनले चेतावनी दिए। आइतबार नै नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालयमा बसेको बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेपछि निर्वाचन कार्यालय अगाडि प्रदर्शन गरिएको हो।
कांग्रेसका महाधिवेशन प्रतिनिधि जगत ऐरले निर्वाचन आयोगको निर्णयमा ‘बाह्य चलखेल’ रहेको आरोप लगाउँदै पटक–पटक जनमतबाट अनुमोदित हुँदै आएका देउवा र कांग्रेसमाथि गम्भीर अन्याय भएको टिप्पणी गरे।
देउवा डडेल्धुराबाट २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा सम्पन्न संसदीय निर्वाचनमा लगातार विजयी हुँदै आएका छन्। सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।


