डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ डडेल्धुरा आइपुग्ने कार्यक्रम तय भएको छ।
सुदूरपश्चिम भ्रमणमा रहेका शाह बुधवार (भोलि) बिहान ९ बजेतिर जिल्ला सदरमुकाम आइपुग्ने रास्वपा डडेल्धुराका सभापति सुरेन्द्र अवस्थीले जानकारी दिए। भ्रमणका क्रममा उनले पार्टी कार्यकर्ता, समर्थक तथा सर्वसाधारणसँग भेटघाट गर्ने कार्यसूची रहेको बताइएको छ।
सभापति अवस्थीले सामाजिक सञ्जालमार्फत रास्वपाका स्थानीय समर्थक, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरे। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ का उम्मेदवार शाहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।
रास्वपाले शाहको यस भ्रमणलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा समसामयिक छलफलसँग जोडिएको नियमित कार्यक्रमका रूपमा व्याख्या गरेको छ।
पछिल्लो समय देशव्यापी राजनीतिक गतिविधिमा सक्रिय रहेका शाहको सुदूरपश्चिम भ्रमणलाई यहाँको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले डडेल्धुरामा डा. तारा जोशीलाई उम्मेदवार बनाएको छ।