डडेल्धुरा: डडेल्धुराबाट नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले सार्वजनिकरूपमा आफूलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारीको दाबी गर्दै आएका छन्। तर महरको यही दाबीलाई देउवाले भेट नै नदिएर झुटा सावित गरि दिएका छन्।
चुनावी अभियानका क्रममा जिल्लामा मनोनयन दर्ता पश्चात काठमाण्डौ पुगेका महरलाई स्वयं देउवाले भेटसमेत नदिएको विषय बाहिरिएको छ। राष्ट्रिय सभा सदस्यको निर्वाचन पश्चात सोहीदिन काठमाडौं पुगेका महरलाई पूर्व प्रधानमन्त्री देउवाले भेट नदिएको चर्चा छ।
पार्टी स्रोतका अनुसार महरले देउवासँग भेटका लागि प्रयास गरे पनि समय नदिइएको बताइएको छ। देउवाबाट भेट नपाएपछि महर नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण मल्ललाई भेटेकाे चर्चा छ। उनले मल्ललाई सहयाेगका लागि आग्रह गरेका र मल्लले डडेल्धुरा सबै उम्मेदवार आफ्ना लागि समान भएकाे भन्दै शुभकामना दिएर पठाएको स्राेतकाे दाबी छ। देउवा विरामी भएका कारण भेट हुन नसकेको उम्मेदवार महर निकट स्रोतले जानकारी दिएको छ।
देउवाको उत्तराधिकारीको दाबी गर्ने उम्मेदवारलाई स्वयं देउवाले भेट नदिनुले कांग्रेसभित्र र डडेल्धुराको राजनीतिक वृत्तमा अनेक प्रश्नहरू उठाएको छ। डडेल्धुराबाट सात पटक निर्वाचन जितेका र नेपाली कांग्रेसको दुई पटक सभापति भएका देउवासँग समन्वय र समर्थन जुटाउने उद्देश्यले काठमाडौं पुगेका महर रित्तै हात फर्किएपछि डडेल्धुरामा राजनितिक उथल पुथल हुने देखिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन अगाडि देखि नै महरले देउवा समूह छोडेर गगनकुमार थापा पक्षनिकट रहेको आरोप छ। उनले डडेल्धुराको टिकटसमेत देउवाको इच्छाविपरीत चोरेर ल्याएको कार्यकर्ता माझ चर्चा चुलिएको छ। महरका प्रतिस्पर्धी उम्मेदवारहरू भने अहिले कार्यकर्ता माझ घरदैलो अभियानमा व्यस्त छन्। स्थानीय मुद्दा, विकास र जनजीविकालाई केन्द्रमा राखेर मतदाता भेटिरहेका बेला महरको अभियान भने देउवाको उत्तराधिकारी र कांग्रेसको विरासतमुखी भएको आरोप लाग्दै आएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार देउवाको प्रभाव क्षेत्र मानिने डडेल्धुरामा देउवाकै असहयोग वा दूरीको संकेत महरका लागि चुनावी रूपमा चुनौतीपूर्ण हुन सक्छ। ‘उत्तराधिकारी’ को दाबी र व्यवहारिक समर्थनबीच देखिएको यो अन्तरले आगामी निर्वाचनमा महरको स्थिति कस्तो रहला भन्ने प्रश्न थप चासोको विषय बनाएको छ।