डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डडेल्धुराका डा. ताराप्रसाद जोशीले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्।
उनले फागुन २१ गते हुने निर्वाचनमा घण्टी चिह्नमा मतदान गरी सुशासन, पारदर्शिता र विकासको अभियानलाई सफल बनाउन मतदातासमक्ष अपिल गरेका छन्।
डडेल्धुरालाई ३५ वर्षदेखि आफ्नो मुख्य राजनीतिक कर्मथलो बनाउँदै आएको उल्लेख गर्दै जोशीले सामाजिक न्यायसहितको राज्य व्यवस्था स्थापना आफ्नो दीर्घकालीन लक्ष्य रहेको बताएका छन्।
राजनीति केवल सत्ता प्राप्तिको प्रक्रिया नभई समाजलाई कुन दिशामा लैजाने भन्ने सामूहिक निर्णय भएको उल्लेख गर्दै उनले इतिहासले नागरिकको जीवनसँग विच्छेद भएको शासन प्रणाली टिक्न नसक्ने देखाएको बताएका छन्। दशकौं लामो राजनीतिक संक्रमणका बाबजुद नागरिकको दैनिकीमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै उनले परिणाममुखी नेतृत्वको आवश्यकता औँल्याएका छन्।
युवापुस्ताको चेतना र परिवर्तनको सन्देश
जोशीले हाल देखिएको जेनजी पुस्ताको आन्दोलनलाई चेतनाको उदयको रूपमा व्याख्या गर्दै लोकतन्त्रको वास्तविक अर्थ सुशासन, पारदर्शिता र जवाफदेहिता भएको बताएका छन्। युवापुस्ताको आवाज परिवर्तनको चाहना मात्र नभई शासनको नयाँ नैतिक आधार खोज्ने अभियान भएको उनको भनाइ छ।
सम्भावनायुक्त डडेल्धुराको विकास प्राथमिकतामा
डडेल्धुरा प्राकृतिक स्रोत, कृषि, पर्यटन, जडीबुटी तथा श्रमशक्तिको दृष्टिले सम्भावनायुक्त जिल्ला हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेको यथार्थ स्वीकार गर्दै उनले सुशासन बिना आर्थिक विकास सम्भव नहुने र आर्थिक न्याय बिना लोकतन्त्र दिगो नहुने धारणा व्यक्त गरेका छन्।
संघीय संसदमा निर्वाचित भए संविधानको पूर्ण कार्यान्वयन, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र जनताको जीवनस्तर सुधारमा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
सुशासन र भ्रष्टाचार अन्त्य मुख्य एजेन्डा
वाचापत्रमा पारदर्शिता, सुशासन, भ्रष्टाचार अन्त्य, इमानदारी र जनताप्रतिको उत्तरदायित्वलाई मुख्य संकल्पका रूपमा अघि सारिएको छ। राज्यका हरेक निकायमा कानुनी शासन स्थापित गर्न आवश्यक नीतिगत सुधार र नीति निर्माणलाई प्राथमिकता दिइने उनले बताएका छन्।
संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, स्रोत र कार्यान्वयनमा समन्वय गरी डडेल्धुराका आवश्यकतालाई राष्ट्रिय नीति तथा कार्यक्रममा समेट्ने पहल गर्ने प्रतिबद्धता पनि उनले गरेका छन्।
रोजगारी, उद्योग र उद्यमशीलता विकास
गरिबी न्यूनीकरणका लागि जिल्लास्तरमा उद्योग र उद्यमशीलता विकास गर्ने, विदेशमा रहेका युवाको लगानीलाई एकीकृत गरी औद्योगिक क्षेत्रमा विस्तार गर्ने तथा स्थानीय स्रोत–साधनमा आधारित रोजगारी सिर्जना गर्ने योजना वाचापत्रमा उल्लेख छ। कृषि, वन, जडीबुटी र पर्यटनलाई जिल्लाको आर्थिक मेरुदण्ड बनाउने लक्ष्य पनि राखिएको छ।
कृषि आधुनिकीकरण र बजार सुनिश्चितता
कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै दक्ष कृषि प्राविधिक संरचना गाउँ–घर तहसम्म विस्तार गर्ने, जलवायु अनुकूल दिगो कृषि प्रणाली विकास गर्ने र उत्पादनको बजार सुनिश्चित गर्ने स्पष्ट नीति निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। कृषि पेशालाई सम्मानित पेशाका रूपमा विकास गर्ने उनको भनाइ छ।
स्वास्थ्य सेवा स्तरोन्नति
जिल्लाका प्रमुख स्वास्थ्य संस्थाहरू डडेल्धुरा अस्पताल र जोगबुढा अस्पताललगायत सबै पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाको संस्थागत क्षमता विकास र स्तरोन्नति गरिने उल्लेख छ। आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सेवा र स्वच्छ खानेपानी उपलब्ध गराउने योजना पनि उनले अघि सारेका छन्।
शिक्षा, महिला सशक्तीकरण र सामाजिक न्याय
सामुदायिक विद्यालयको पूर्वाधार सुधार, प्रविधिको प्रयोग, शिक्षक क्षमता विकास, प्राविधिक तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता वाचापत्रमा छ।
महिलाको सम्मानजनक जीवनयापनका लागि विशेष कार्यक्रम ल्याउने, सेवा पहुँचबाहिर रहेका समुदायसम्म राज्य सेवा पुर्याउने र भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनमा विशेष पहल गर्ने उनले बताएका छन्।
पूर्वाधार विकास र डिजिटल पहुँच
जिल्ला सदरमुकामदेखि प्रत्येक पालिका सदरमुकामसम्म सडक कालोपत्रे गर्ने, जिल्लाभित्रका सडक सञ्जाल स्तरोन्नति गर्ने, विद्युतीकरण तथा टेलिफोन–इन्टरनेट सेवा सबै नागरिकको पहुँचमा पुर्याउने योजना पनि सार्वजनिक गरिएको छ। यसअघि बहसमा ल्याइएको ‘भिजन डडेल्धुरा’ अवधारणाअन्तर्गतका योजनालाई कार्यान्वयनमा विशेष जोड दिइने उनको भनाइ छ।
उम्मेदवार जोशीले जनताको न्यायपूर्ण र विवेकपूर्ण निर्णयलाई सम्मान गर्ने उल्लेख गर्दै आफू इमानदारी, सरल जीवनशैली र परिणाममुखी नेतृत्वसहित नयाँ नेपालको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जोशीको चुनावी वाचापत्र–
