Radio Unity 92.2MHz

विपी कांग्रेस डडेल्धुराले जनमत लिएर मतदान गर्ने

डडेल्धुरा: जिल्लामा निर्णायक शक्तिका रूपमा दाबी गर्ने नेपाली कांग्रेस (विपी)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा मतदातासँग प्रत्यक्ष अन्तरसम्वाद गरेर निर्णय गर्ने भएको छ।

मंगलबारदेखि पार्टी कार्यालय किशुनजी भवनमा बसेको जिल्ला कार्यसमितिको बैठक तथा अगुवा कार्यकर्ता भेलाले ‘जनता जे भन्छ, विपी कांग्रेस त्यही गर्छ’ भन्ने मूल नारासहित जिल्लाव्यापी अन्तरसम्वाद अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियानबाट प्राप्त जनादेशका आधारमा कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने विषयमा ठोस निर्णय लिइने पार्टीले जनाएको छ।

बुधबार सम्पन्न बैठकले साताव्यापी अभियान सञ्चालन गरी राजनीतिक दलमा आवद्ध नभएका तटस्थ मतदातासँग छलफल, अन्तरक्रिया तथा सुझाव संकलन गर्ने र प्राप्त अभिमतका आधारमा निर्णय गरिने निर्णय गरेको विपी कांग्रेस डडेल्धुराका सभापति भरत नेपालीले बताए।

विपी कांग्रेसका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लको आतिथ्यतामा सम्पन्न बैठकले जिल्लामा प्रतिस्पर्धामा रहेका सबै राजनीतिक दल तथा उम्मेदवारहरूसँग सहकार्यका लागि संवाद भइरहेको र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी नदिएको अवस्थामा कसलाई मतदान गर्ने भन्ने विषयमा जनमत लिएर अघि बढ्ने निष्कर्ष निकालिएको जनाएको छ।

सोमबार केन्द्रीय उपसभापति मल्ल डडेल्धुरा पुगेपछि विभिन्न राजनीतिक दलका उम्मेदवार तथा नेताहरूले समर्थनका लागि पहल तीव्र बनाएको विपी कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले बताए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मल्लले प्रतिस्पर्धा गर्दै ७ हजार ५३५ मत प्राप्त गरेका थिए।

गत निर्वाचनमा तेस्रो शक्तिका रूपमा उदाएको विपी कांग्रेस यसपटक उम्मेदवारी नदिए पनि निर्णायक मत प्रभाव राख्ने अनुमान गरिएको छ। यही कारण उम्मेदवारहरूले पार्टीको समर्थन लिन सक्रिय पहल गरिरहेका छन्।

जिल्लामा राजनीतिक सहकार्यका लागि आग्रह बढ्दै गएपछि पार्टीले अगुवा कार्यकर्ता भेला आयोजना गरेको र जनमत लिएर मात्रै कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय गर्ने प्रस्ताव पारित भएपछि साताव्यापी अन्तरसम्वाद अभियान सुरु गरिएको हो।

बुधबारदेखि सुरु हुने अभियानका क्रममा नागरिक समाजका अगुवा, बुद्धिजीवी, समाजसेवी, पेशाकर्मी, व्यवसायी, शिक्षक, प्राध्यापक तथा आम मतदातासँग प्रत्यक्ष संवाद गरेर निष्कर्ष निकालिने केन्द्रीय उपसभापति मल्लले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...