डडेल्धुरा: नेपाली कांग्रेस अमरगढी नगर कार्यसमितिकी सचिव देवकी भट्टले पार्टी परित्यागको घोषणा गरेकी छन्।
भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो समयदेखि आफू आबद्ध रहँदै आएको कांग्रेसको साधारण सदस्यता तथा नगर सचिव पदसमेतबाट अलग हुने निर्णय गरेकी जानकारी दिएकी हुन्।
उनले लेखेकी छन्, ‘पारिवारिक विरासत अनि बाल्यकालदेखिकै प्रजातान्त्रिक सोच, आचरण प्रतिको आकर्षण एवं तदनुरूपकै सिद्धान्त अपनाएको दल नेपाली कांग्रेसको एक सिपाही भएर काम गरेको लामो समय बितेको छ। ऐतिहासिक पार्टीमा रहेर सामाजिक राजनीतिक क्षेत्रमा काम गर्दा गौरवको महसुस गरेको छु। राणा शासनविरुद्धको लडाइँ, प्रजातन्त्र प्राप्तिको लडाइँ एवं नेपालका प्रत्येक राजनीतिक परिवर्तनमा सधैं जनताको पक्षमा पार्टीले गरेको संघर्ष कसैबाट लुकेको छैन। इतिहासका प्रत्येक कालखण्डमा नेपाली कांग्रेसका आदरणीय व्यक्तित्वहरू बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत अग्रज नेताज्यूहरूको अविचलित त्याग, समर्पण तथा निष्ठाबाट प्रभावित भएरै बाल्यकालदेखि नै नेपाली कांग्रेससँग आबद्ध भएकी थिएँ। तर अहिलेको अवस्थामा इतिहासका सम्पूर्ण तथ्यहरू एकातिर अनि हाम्रो व्यवहार, सोच, दृष्टिकोण अर्कैतिर भएको तथ्य पनि हाम्रासामु छर्लङ्ग छ।’
भट्टले स्थानीय तहदेखि केन्द्रसम्म इमान्दार, लगनशील र योग्य कार्यकर्ताको मूल्याङ्कन कमजोर हुँदै चाकरी, चाप्लुसी, नातावाद र कृपावाद हावी भएको यथार्थका कारण पार्टी रूपान्तरण कठिन भएको निष्कर्षमा पुगेको उल्लेख गरेकी छन्। सुदूरपश्चिमका अग्रज नेता शेरबहादुर देउवाप्रति गरिएको व्यवहारले पनि आफूलाई पार्टीमा रहेर अघि बढ्न कठिन भएको महसुस भएको उनले बताइन्।
पार्टीमा रहँदा सहयोग गर्ने नेता–कार्यकर्ता, आफन्त तथा जनसमुदायप्रति आभार व्यक्त गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर रहने प्रतिबद्धता समेत उनले जनाएकी छन्। साथै आफ्नो निर्णयबाट शुभेच्छुकमा परेको पीडाप्रति क्षमायाचना गरेकी छन्। उनले आजकै मितिबाट लागू हुने गरी कांग्रेसको नगर सचिव र साधारण सदस्यसमेत नरहने निर्णय गरेकी जनाएकी छन्।
