डडेल्धुरा: यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी करिब ९० प्रतिशत पूरा भएको छ।
बुधवार आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममार्फत कार्यालयले हालसम्म सम्पन्न भएका कामकाज, कर्मचारी परिचालन तथा निर्वाचन सामग्री व्यवस्थापनबारे जानकारी गराएको हो।
जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक अधिकांश तयारी पूरा भइसकेको बताए। उनका अनुसार निर्वाचनका लागि आवश्यक प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय काम तीव्र गतिमा अघि बढाइएको छ।
मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको छ भने आवश्यक सबै निर्वाचन सामग्री जिल्लामा पुगिसकेको र सहायक कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए।
जिल्लाका ५२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। मतदान केन्द्रमा प्रयोग हुने ३७ प्रकारका सामग्री जिल्लाबाट खरिद गरिएको र १४ प्रकारका सामग्री निर्वाचन आयोग नेपालले व्यवस्था गरेको जिल्ला निर्वाचन अधिकारी अवस्थीले बताए। निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीबाहेक अन्य कर्मचारी तथा स्वयंसेवक गरी करिब १ हजार २०० जनशक्ति परिचालन गरिने उनको भनाइ छ।
जिल्लामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन्। जसमा ४६ हजार ९५७ पुरुष र ४६ हजार ४४६ महिला रहेका छन्। निर्वाचनका लागि डडेल्धुरामा १०४ मतदानस्थल र १४२ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा हाल १ हजार ६८० अस्थायी मतदाता छन्।
जिल्ला निर्वाचन अधिकारी अवस्थीले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिन सक्ने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन आम मतदाता तथा सञ्चारकर्मीलाई आग्रह गरे। निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
सामाजिक सञ्जालमा फैलिने गलत सूचना र अपुष्ट समाचारले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भएकाले संयमित र तथ्यमा आधारित सूचना प्रवाह आवश्यक रहेको उनले जोड दिए। उनले फागुन १८ गते निर्वाचन कर्मचारीहरू सम्बन्धित मतदानस्थलमा पुगिसक्ने बताए।
डडेल्धुरामा तीन स्वतन्त्रसहित १३ जना उम्मेदवार छन्। नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेही, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायत चुनावी मैदानमा छन्।
यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी परेको छ। तीन जना स्वतन्त्र उम्मेदवार छन्। जसमा गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेती छन्।

