Radio Unity 92.2MHz

डडेल्धुराका सबै उम्मेदवारले खोले बैंक खाता, निर्वाचन आचारसंहिता पालना सुनिश्चित

डडेल्धुरा: प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका डडेल्धुराका सबै १३ जना उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता सञ्चालन गरेका छन्। निर्वाचन आचारसंहिताअनुसार छुट्टै बैंक खाता खोल्नुपर्ने प्रावधान पूरा भएसँगै जिल्लामा आचारसंहिता पालना सुदृढ भएको बताइएको छ।

निर्वाचन आयोग नेपालले उम्मेदवारको चुनावी खर्च पारदर्शी र अभिलेखयोग्य बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ। आम्दानी–खर्च सोही खातामार्फत गर्नुपर्ने तथा नगद कारोबार न्यूनिकरण गर्ने उद्देश्यले यस्तो प्रावधान लागू गरिएको हो।

जिल्लाका आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपेन्द्र ओझाका अनुसार सबै उम्मेदवारले बैंक खाता सञ्चालन गरिसकेका छन्। उनले निर्वाचन अवधिभर हुने प्रचारप्रसार, सभा–सम्मेलन, सवारी साधन प्रयोग, प्रचार सामग्री उत्पादन तथा वितरण लगायत सम्पूर्ण खर्च विवरण बैंकमार्फत पारदर्शी रूपमा राख्नुपर्ने बताए।

नयाँ व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढीको कुनै पनि आर्थिक सहयोग अनिवार्य रूपमा बैंकमार्फत लिनुपर्नेछ। साथै, प्राप्त स्वेच्छिक सहयोगलाई पारदर्शी बनाउन रसिदको व्यवस्था गरिएको छ। निर्वाचन आचारसंहिताको दफा १६ अनुसार खर्च विवरण र बिल भरपाई तोकिएको समयभित्र आयोगमा बुझाउनुपर्ने प्रावधान रहेको छ।

डडेल्धुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी व्यवस्था छ। बैंक खाता सञ्चालन जस्ता प्रावधानले निर्वाचन खर्चको अनुगमन, लेखापरीक्षण तथा सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...