Radio Unity 92.2MHz

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्रा– शिक्षकदेखि सांसदसम्म

डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको जन्म २०२७ साल चैत ३० गते भएको हो। उनी गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन्।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आएका छन्। उनको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो।

२०४८ सालमा शिक्षण पेसामा आबद्ध हुँदै शिक्षक सङ्गठनमा आवद्ध भएका उनी २०५१ सालमा नेकपा एमाले डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय भए। उनले जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययापनसमेत गराएका थिए।

पार्टीभित्र उनले क्रमशः विभिन्न जिम्मेवारी सम्हाले। २०५३ सालमा नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य बनेका जोशी २०५४ सालमा जिल्ला कमिटी सचिव बने।

०५५ सालतिर उनी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा पनि सक्रिय बने। त्यसक्रममा कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाले।

पत्रकारितामार्फत पनि उनले आफ्नो धारणा सार्वजनिक गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेखन गरेका थिए। उनले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दुस्तान टाइम्स’मा समेत स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा विचार प्रस्तुत गरेका थिए।

संगठनमा लामो समय काम गरेका उनी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत भएका थिए। राजनीतिक गतिविधिसँगै उनले लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरे। विशेषगरी २०६२/०६३ को जनआन्दोलनमा उनको सक्रिय सहभागिता रहेको बताइन्छ। सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहेका जोशी सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिन्छन्।

निर्वाचन राजनीतिमा भने उनले उतार–चढाव भोगेका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार व्यहोरेका थिए।

तर २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले पुनः राजनीतिक रूपमा बलियो उपस्थिति देखाए। २०७८ सालतिर एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय बनेका थिए।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए। शैक्षिक रूपमा पनि जोशी उच्च अध्ययन गरेका नेता हुन्।

नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उनको अनुभव छ।

सम्बन्धित पाेष्टहरु
Loading...