डडेल्धुरा: नेपाली कांग्रेसको अभेद्य गढ मानिने डडेल्धुरामा ३४ वर्षपछि कांग्रेसको विरासत ढलेको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशीले ऐतिहासिक जित हासिल गर्दै कांग्रेसको किल्ला भत्काएका हुन्। देउवाले ७ पटक चुनाव जितेको उक्त स्थान जोगाउने जिम्मा नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई दिएको थियो। महराले सो किल्ला जोगाउन सकेनन्।
महरा ७ हजार १० मतको फराकिलो अन्तरले रास्वपाका जोशीसँग पराजित भए। जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा महरले १२ हजार १२१ मतमा प्राप्त गरे।
देउवा २०४८ सालदेखि डडेल्धुरामा नेपाली कांग्रेसबाट सदाबहार उम्मेदवार र अपराजित रहँदै आएका थिए। पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति देउवा यसपटक चुनावी मैदानमा थिएनन्। देउवालाई डडेल्धुराका जनताले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सम्म गरेर लगातार ७ पटक जिताएका थिए। देउवा सोही जनमतका आधारमा पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई कार्यकाल नेपाली कांग्रेसको सभापति बनेका थिए।
‘जेनजी’ आन्दोलनका क्रममा आफ्नै घरमा सांघातिक आक्रमणको सिकार बनेका देउवा निर्वाचन अघि सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिबाट विस्थापित बने। विशेष महाधिवेशनबाट गगनकुमार थापा कांग्रेसको नेतृत्वमा आएपनि देउवाको डडेल्धुराबाट अन्तिमपटक चुनाव लड्ने इच्छा थियो। तर, उनले यसपटक चुनाव लड्ने अवसर पाएनन्। सोही कारण देउवा चुनाव अगाडि उपचारका लागि भन्दै सिंगापुर उडे। देउवा भोट हाल्न पनि फर्किएनन्।