डडेल्धुरा: डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रास्वपाले १९ हजार २६८ मत प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी मत हासिल गरेको हो।
समानुपातिकतर्फ नेपाली कांग्रेसले ११ हजार ८५१ मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७७२, नेकपा (एमाले)ले ३ हजार २७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३९२ मत प्राप्त गरेका छन्।
जिल्लामा समानुपातिकतर्फ कुल ४६ हजार २११ मत खसेको थियो। त्यसमध्ये ४४ हजार १८६ मत सदर भएका छन् भने २ हजार २५ मत बदर भएका छन्।
यसअघि प्रत्यक्षतर्फ पनि डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका थिए। उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत पाएका थिए। जोशीले महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
हेर्नुहोस् कुन दलले कति मत पाए?


