Radio Unity 92.2MHz

डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्दा पड्कियो, किशोरको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ। मंगलबार साँझ परशुराम नगरपालिका-२ बसौटीस्थित जानकी बोहराको घरमा बन्दुक समातेर फोटो खिच्ने क्रममा १७ वर्षीय सुवास महराको मृत्यु भएको हो।

बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकीको घर परशुराम नगरपालिका आएका थिए। सोही क्रममा घरमा रहेको भरुवा बन्दुक समातेर फोटो खिच्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको बताइएको छ।

बन्दुक पड्किँदा गम्भीर घाइते भएका महरालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

घटनापछि प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा परशुराम नगरपालिका-२ बसौटीका गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका-४ का १७ वर्षीय एक किशोर रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...