डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डडेल्धुराकी आकृति अवस्थी समानुपातिक सांसद बन्ने पक्का भएको छ। खस–आर्य महिला क्लस्टरबाट उनी प्रतिनिधिसभा सदस्य बन्ने निश्चित भएको हो।
सबै क्लस्टरबाट रास्वपाले ४८ जना महिला सांसद बनाउँदैछ। जसमा आकृति पनि परेकी छन्। अमरगढी नगरपालिका–५ सेलागाउँकी अवस्थी जेन–जी पुस्ताको आन्दोलनका क्रममा घाइते भएका मुकेश अवस्थीकी दिदी हुन्।
आन्दोलनका क्रममा मुकेशलाई गोली लागेर गम्भीर घाइते भएका थिए। गोली लाग्दा उनको बायाँ खुट्टाको घुँडामुनि भागमा गम्भीर चोट पुगेको थियो। चिकित्सकका अनुसार गोलीले मुख्य नसा, स्नायु प्रणाली र हड्डीसम्म क्षतविक्षत बनाएको थियो।
मुकेश परिवारका जेठा छोरा हुन्। उनी डोटीको कुमालीकोटबाट सब–इन्जिनियरिङ अध्ययन सकेर करिब डेढ वर्षअघि काठमाडौं पुगेका थिए। जागिर गर्दै अस्ट्रेलिया जाने तयारीमा रहेका मुकेश आन्दोलनमा सहभागी हुँदा घाइते बनेका थिए।
यसैबीच, आकृति समानुपातिक सांसद बन्ने निश्चित भएपछि डडेल्धुराका स्थानीयले खुसी व्यक्त गरेका छन्। स्थानीयहरूले सामाजिक सञ्जालमार्फत् उनलाई अहिले बधाइ दिइरहेका छन्। राजनीतिक रूपमा नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा पनि अवस्थीको संसद् प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।