डडेल्धुरा: सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेडक्वार्टर डडेल्धुराले आफ्नो १९औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। शनिवार विभिन्न सांस्कृतिक कार्यक्रमसहित गुल्म हेडक्वार्टर डडेल्धुराले स्थापना दिवस मनाएको हो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर सात वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले स्थापना दिवसले संगठनभित्र आपसी सम्बन्ध र सामीप्य अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
उनले गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, सीमा सुरक्षा सुदृढ गर्न तथा आन्तरिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे। आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनको अपेक्षा रहेको बताउँदै उनले स्थानीय प्रशासन, स्थानीय तह र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याए।
गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाशचन्द्र भट्टले स्थापना दिवसले संगठनभित्र नयाँ ऊर्जा र उत्साह थपेको बताए। उनले गुल्मले सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा राजस्व संकलनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै सहयोग गर्ने सम्पूर्ण निकायप्रति आभार व्यक्त गरे।
साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्दै जाने डीएसपी भट्टले प्रतिबद्धता व्यक्त गरे। डडेल्धुरामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म २०६३ सालमा स्थापना भएको हो।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा जिल्लाका स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय, कार्यालय प्रमुख र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



