Radio Unity 92.2MHz

डडेल्धुरामा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने पहिलो पालिका बन्यो गन्यापधुरा

डडेल्धुरा: गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

गन्यापधुरा–२ देवखेतमा निर्माण गरिएको अस्पताल बुधबारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याइएको हो। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले पूजा–आराधनासहित अस्पताल भवनको उद्घाटन गरेका हुन्।

उद्घाटनसँगै एक एमबीबीएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिइन्। अस्पताल निर्माण, उद्घाटन तथा सेवा सञ्चालनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण गन्यापधुराबासी तथा सहयोगीप्रति उनले आभार व्यक्त गरेकी छन्।

अध्यक्ष कार्कीले अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले आफ्नै गाउँघरमै सहज रूपमा स्वास्थ्य सेवा पाउने बताए। उनले उपचारका लागि डडेल्धुरा सदरमुकाम, धनगढी, नेपालगञ्ज र काठमाडौं धाउनुपर्ने बाध्यता अब क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे।

संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब १३ करोड रुपैयाँ लागतमा अस्पताल निर्माण सम्पन्न भएको हो। अध्यक्ष कार्कीका अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवासमेत गाउँमै उपलब्ध गराउने लक्ष्य राखिएको छ।

जिल्लामा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने गन्यापधुरा पहिलो पालिका बनेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७७ मा स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।

   

सोही कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा निर्माण कार्य भने अझै अलपत्र रहेको जनाइएको छ। बजेट अभाव र ठेकेदारको ढिलासुस्तीका कारण काम प्रभावित भएको बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...