Radio Unity 92.2MHz

डडेल्धुरा एक महिनादेखि सिडिओविहीन, निमित्तकै भरमा चल्दैछ जिल्ला प्रशासन

डडेल्धुरा: एक महिनादेखि डडेल्धुरा प्रमुख जिल्ला अधिकारी (सिडिओ) विहीन बनेको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा सहसचिव स्तरको नेतृत्वमा सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि हालसम्म नयाँ सिडिओ नआउँदा प्रशासनिक कामकाज निमित्तकै भरमा चलिरहेको छ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको गत वैशाख १० गते सरुवा भएपछि जिल्ला प्रशासन नेतृत्वविहीन बनेको हो। कोइरालाको गत पाँच महिनामै सरुवा भएपछि डडेल्धुराले अहिलेसम्म नयाँ सिडिओ पाउन सकेको छैन।

कोइरालाले २०८२ मंसिर १२ गतेदेखि जिल्लाको नेतृत्व सम्हालेका थिए। तर गृहमन्त्रालयले उनको सरुवापछि एक महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ प्रमुख जिल्ला अधिकारी पठाउन चासो नदेखाएको भन्दै सर्वसाधारणले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

सहसचिव स्तरको दरबन्दी रहेको जिल्लामा लामो समयसम्म स्थायी नेतृत्व नहुनु प्रशासनिक कमजोरीका रूपमा हेरिएको छ। अहिले सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई निमित्तको जिम्मेवारी दिइएको छ भने सम्पूर्ण प्रशासनिक कामकाज उपसचिव वलीकै भरमा सञ्चालन भइरहेको छ।

सिडिओविहीन हुँदा जिल्लामा शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माणको समन्वय, नागरिकता तथा राहदानीजस्ता संवेदनशील सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने चिन्ता बढ्न थालेको छ। डडेल्धुराजस्तो राजनीतिक र प्रशासनिक दृष्टिले महत्वपूर्ण जिल्लालाई लामो समय नेतृत्वविहीन राख्नुले गृहमन्त्रालयप्रति समेत प्रश्न उठ्न थालेको छ।

सरकारले अझैसम्म नयाँ सिडिओ नपठाउनु जिल्लाकै लागि विडम्बनापूर्ण भएको नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले बताए। जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील निकाय लामो समयसम्म निमित्तको भरमा सञ्चालन हुनु दुःखद् भएको भन्दै उनले यथाशीघ्र सहसचिव स्तरको सिडिओ पठाउन सरकारसँग माग गरेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...