डडेल्धुराः सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि डडेल्धुरामा सुरु भएको छ। अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा आयोजित विशेष समारोहका बीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। डडेल्धुरा, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, अछाम, बझाङ, बाजुरा र डोटीबाट आएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी करिब एक हजार जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी बजेटमा खेल पूर्वाधार विकास, खेलाडी उत्पादन र प्रतियोगितालाई निरन्तरता दिन विशेष बजेट विनियोजन गरिने घोषणा गरे।
उनले भने, ‘खेलकुद केवल मनोरञ्जनको माध्यम होइन, यो राष्ट्र निर्माण, अनुशासन, स्वास्थ्य र पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो। प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउनेछ। अब सुदूरपश्चिमका गाउँ–गाउँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने वातावरण बनाइन्छ।’
मन्त्री खड्काले पहिलोपटक डडेल्धुरामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले पहाडी जिल्लाहरूमा खेल संस्कृतिको विस्तार र खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
जिल्लास्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी भएका हुन्। विगतमा कैलाली र कञ्चनपुरमै सीमित हुँदै आएको प्रतियोगिता यसपटक पहिलोपटक डडेल्धुरामा आयोजना गरिनु सुदूरपश्चिमको खेलकुद इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबड्डी, कराते, तेक्वान्डो र एथलेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताका कारण सदरमुकाम क्षेत्रमा चहलपहल बढेको छ भने होटल, यातायात र स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको स्थानीय व्यवसायीहरू बताउँछन्।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले खेलकुद क्षेत्रको दिगो विकासका लागि सरकारले समग्र बजेटको कम्तीमा एक प्रतिशत रकम खेल क्षेत्रमा छुट्याउनुपर्ने धारणा राखे। उनले पर्याप्त बजेट व्यवस्थापन भए प्रदेशभर नियमित खेल गतिविधि सञ्चालन गर्न सहज हुने बताए।
प्रतियोगिताको उद्घाटन समारोहमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, खेलप्रेमी तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
