डडेल्धुरा: आलिताल गाउँपालिका–८ अन्तर्गत गोदाम, कालाकोट र मौरी क्षेत्रमा सञ्चालित विभिन्न बंगुर पालन फर्ममा अफ्रिकन स्वाइन फिभरसँग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि गाउँपालिकाले बंगुरपालक कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आलिताल गाउँपालिकाको पशुपंक्षी विकास शाखाका अनुसार केही समययता ती क्षेत्रमा बंगुर तथा सुंगुरमा रोगका लक्षण देखिनुका साथै केही पशु मरेको जानकारी प्राप्त भएको छ। रोगको यकिन पहिचानका लागि लक्षण देखिएर मरेका पशुका भित्री अंगहरूको नमूना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाइने जनाइएको छ।
शाखाले बिहीवार जारी गरेको सूचनामा अफ्रिकन स्वाइन फिभर सुंगुर, बंगुर तथा बदेल प्रजातिमा विषाणुका कारण फैलिने अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको रोग भएको उल्लेख गरेको छ। यो रोग मानिसमा भने नसर्ने जनाइएको छ।
रोग लागेका पशुमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग रातो हुने, शरीरमा निलो धब्बा देखिने, खान नखाने, बान्ता गर्ने, छटपटाउने तथा दिसामा रगत देखिनेजस्ता लक्षण देखिने शाखाले जनाएको छ।
हालसम्म उक्त रोगको प्रभावकारी उपचार उपलब्ध नभएकाले जैविक सुरक्षाका उपाय कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। संक्रमित क्षेत्रबाट सुंगुर, पाठापाठी, मासु तथा दाना ओसारपसार नगर्न, मरेका पशुलाई सुरक्षित रूपमा गाड्न, खोर तथा फर्म नियमित रूपमा निःसंक्रमण गर्न र जंगली बदेलसँग सम्पर्क हुन नदिन पशुपालकलाई अनुरोध गरिएको छ।
गाउँपालिकाले कुनै क्षेत्रमा ठूलो संख्यामा बंगुर मरेको वा उल्लेखित लक्षण देखिएको खण्डमा तत्काल पशु सेवा शाखामा जानकारी गराउन आग्रह गरेको छ। रोग नियन्त्रणका लागि स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुंगुर तथा मासुको ओसारपसार गर्न र होटल तथा रेस्टुरेन्टबाट फालिएका खानेकुरा पशुलाई नखुवाउन समेत सुझाव दिइएको छ। आलिताल गाउँपालिकाले रोगको सम्भावित फैलावट रोक्न सबै बंगुरपालक कृषकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।
