Radio Unity 92.2MHz

गुणस्तरीय शिक्षाका लागि अजयमेरुमा तेस्रो शैक्षिक सम्मेलन सुरु

डडेल्धुरा: ‘शिक्षामा गरिने खर्च, खर्च होइन लगानी हो, शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो’ भन्ने मूल नारासहित अजयमेरु गाउँपालिकामा तेस्रो शैक्षिक सम्मेलन सुरु भएको छ। गाउँपालिकाको आयोजनामा शनिबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास) ले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टले गाउँपालिकाले शिक्षा क्षेत्रमा हरेक वर्ष २ करोड रुपैयाँभन्दा बढी लगानी गर्दै आएको बताए। उनले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमा टिकाइराख्नु ठूलो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै सबै सरोकारवालाको सहकार्यबाट मात्रै त्यसको समाधान सम्भव हुने बताए।

‘विद्यालयमा विद्यार्थी टिकाइराख्न अभिभावक, शिक्षक, समुदाय र स्थानीय सरकार सबैको साझा भूमिका आवश्यक छ,’ उनले भने, ‘आगामी दिनमा पनि गाउँपालिका सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजन गर्नेछ।’

कार्यक्रममा शिक्षा विकास निर्देशनालय डोटीका महानिर्देशक दुर्गादत्त विष्टले गुणस्तरीय शिक्षाले मात्रै नैतिकवान्, जिम्मेवार र सक्षम नागरिक उत्पादन गर्न सक्ने बताए। उनले विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै भर्ना भएका विद्यार्थीलाई विद्यालयमै टिकाइराख्न र उनीहरूको सिकाइप्रति आकर्षण बढाउन विशेष प्रयास आवश्यक रहेको बताए।

‘विद्यार्थीलाई केवल किताबी ज्ञान दिएर मात्र पुग्दैन, प्रविधिमैत्री, व्यवहारिक र उद्यमशीलतामुखी शिक्षा पनि दिनुपर्छ,’ उनले भने, ‘समयको मागअनुसार सीप र प्रविधिसँग जोडिएको शिक्षा आजको आवश्यकता हो।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले शिक्षा क्षेत्रमा गरिने लगानीले वर्षौंसम्म प्रतिफल दिने भएकाले शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताए। उनले शिक्षा क्षेत्रमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे।

सम्मेलनमा गाउँपालिकाको १० वर्षे गाउँ शिक्षा योजनाको समीक्षा, एकीकृत पाठ्यक्रम तथा मूल्यांकन प्रणाली, अनिवार्य तथा निःशुल्क शिक्षा, अभिभावक शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बालमैत्री सिकाइ वातावरण तथा सुरक्षित एवं हरित विद्यालय निर्माणका विषयमा व्यापक छलफल भइरहेको छ।

साथै, गुणस्तरीय र समावेशी शिक्षाका लागि सूचना प्रविधिको उपयोग तथा शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको भूमिकाबारे विशेष सत्र सञ्चालन गरिने जनाइएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीका अनुसार गाउँपालिकामा पर्याप्त शिक्षक तथा कर्मचारी, सन्तोषजनक भौतिक पूर्वाधार, विषयगत शिक्षक दरबन्दी, समुदायको सहयोग तथा सिकाइ सुधारका लागि आवश्यक स्रोत–साधन उपलब्ध हुनु सकारात्मक पक्ष हुन्।

विभिन्न संघसंस्था र सरोकारवालासँगको सहकार्यमा शिक्षक क्षमता विकास कार्यक्रम सञ्चालन हुँदै आएको र सामुदायिक सिकाइ केन्द्रमार्फत विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरिँदै आएको उनले बताए।

तर, समग्र शैक्षिक नतिजा अपेक्षाअनुसार सुधार हुन नसकेको, विद्यार्थीको नियमित उपस्थितिमा कमी, अभिभावकको न्यून सहभागिता, एसईई नतिजामा अपेक्षित सुधार नआएको, विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको तथा प्रारम्भिक बालविकास कक्षामा आधारभूत सिकाइ कमजोर रहेको जस्ता चुनौती अझै कायम रहेको सेटीले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी शैक्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणमा समावेश गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले जानकारी दिए। सम्मेलनमा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको उल्लेख्य सहभागिता रहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...