Radio Unity 92.2MHz

डडेल्धुरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डडेल्धुरा: डडेल्धुरामा उद्योगी तथा व्यवसायीहरूका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय डडेल्धुराको आयोजना तथा डडेल्धुरा उद्योग वाणिज्य संघको सहकार्यमा शनिवार कार्यक्रम गरिएको हो।

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपकबहादुर महताको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने कर छुट, करसम्बन्धी व्यवस्था तथा राजस्व नीतिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा कर प्रणाली, करदाताका अधिकार र दायित्व, कर छुटका प्रावधान तथा समयमै कर बुझाउनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो। आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख कर अधिकृत गगनबहादुर शाहीले राज्य सञ्चालन, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि कर राजस्व मुख्य आधार भएकाले प्रत्येक नागरिक तथा व्यवसायीले आफ्नो दायित्वअनुसार कर तिर्नुपर्ने बताए।

‘कर तिर्नु केवल कानुनी दायित्व मात्र होइन, राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष योगदान पनि हो,’ प्रमुख कर अधिकृत शाहीले भने, ‘पारदर्शी र व्यवस्थित कर प्रणालीमार्फत समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ।’

अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने कार्यालयका प्रतिनिधिहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै आवश्यक सुझावसमेत प्रदान गरेका थिए।

व्यवसायीहरूमा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, कर प्रणालीप्रति सकारात्मक धारणा विकास गर्ने तथा स्वेच्छिक कर सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष महताले बताए। कार्यक्रमले करदाता र राजस्व कार्यालयबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।

सम्बन्धित पाेष्टहरु
Loading...