डडेल्धुरा: गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभाको २२औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवन आगामी वर्षभित्र सम्पन्न गर्ने, आधारभूत अस्पताललाई थप सुदृढ बनाउँदै सेवा विस्तार गर्ने तथा सबै वडामा पुगेको सडक पहुँचलाई थप स्तरोन्नति गर्ने योजना समेटिएको छ।
हालसम्म गाउँपालिकाभित्र २६५ किलोमिटर सडक निर्माण, ७५ प्रतिशत घरधुरीमा ‘एक घर–एक धारा’ कार्यक्रममार्फत स्वच्छ खानेपानी पुगेको, १५० रोपनी बाँझो जमिन खेतीयोग्य बनाइएको तथा ४९५ रोपनी क्षेत्रमा आलु खेती विस्तार गरिएको उपलब्धि पनि सार्वजनिक गरिएको छ। वडा नम्बर ५ का ४५ परिवारलाई लालपुर्जा वितरण भइसकेको र अन्य वडामा पनि वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष कार्कीले बताए।
शिक्षामा डिजिटल रूपान्तरण
नीति तथा कार्यक्रममा ई–लर्निङ, भर्चुअल कक्षा, कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली, सामुदायिक विद्यालयमा ई–हाजिरी, निःशुल्क स्यानिटरी प्याड वितरण तथा दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ। आर्थिक रूपमा विपन्न, टुहुरा र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा गाउँपालिका अध्यक्ष अभिभावकत्व कार्यक्रममार्फत सहयोग गरिनेछ।
स्वास्थ्य सेवा थप सुदृढ
आधारभूत अस्पताललाई आवश्यक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालन गरिने, स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवामा पहुँच विस्तार गरिने तथा मानसिक स्वास्थ्य, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, आँखा, कान, नाक तथा घाँटीसम्बन्धी सेवासमेत विस्तार गरिने नीति लिइएको छ।
कृषि र पशुपालनमा आत्मनिर्भरता
गाउँपालिकाले ‘एक पकेट एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी बनाउँदै कृषि पकेट क्षेत्र विकास, सिँचाइ विस्तार, कृषि सडक, गोदाम घर, बजार व्यवस्थापन तथा जैविक खेतीलाई प्राथमिकता दिने जनाएको छ।
रैथाने बाली संरक्षण, व्यावसायिक पशुपालन, आलु सुपर जोन, भटमास खेती तथा युवालाई कृषिमा आकर्षित गर्ने ‘कृषि उत्पादन बढाऔं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ अभियान सञ्चालन गरिनेछ।
पर्यटन र संस्कृति संरक्षण
गन्याप पदमार्ग निर्माण, लाटा गन्याप विकास क्षेत्रको संरक्षण तथा असिग्राम, कैलपालमाडौं, मष्टामाडौं, चौकामाडौंलगायत धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँपालिकास्तरीय संग्रहालय स्थापना गरी ऐतिहासिक सामग्री संरक्षणको योजना पनि अघि सारिएको छ।
पालिका केन्द्रमा सुविधा सम्पन्न खेल मैदान निर्माण गरिने तथा प्रत्येक वडामा खेल पूर्वाधार विस्तारका लागि पहल गरिनेछ। युवालाई खेलकुदमा आकर्षित गर्न विभिन्न प्रतियोगिता र कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
डिजिटल गाउँपालिका बनाउने लक्ष्य
गाउँपालिकाले आगामी वर्षलाई डिजिटल सुशासनको वर्षका रूपमा अघि बढाउने योजना बनाएको छ। पत्राचार, दर्ता, चलानी, सिफारिस, व्यवसाय दर्ता, न्यायिक समिति, सामाजिक सुरक्षा परिचयपत्र वितरणलगायत सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिनेछ। पालिकालाई क्रमशः ‘पेपरलेस कार्यालय’ का रूपमा विकास गरिने नीति लिइएको छ।
यसैगरी बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन कोष परिचालन, सुरक्षित आवास निर्माण, खुला आश्रयस्थल पहिचान तथा जलाधार संरक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। नदीजन्य पदार्थको अवैज्ञानिक दोहन नियन्त्रणमा समेत जोड दिइएको छ।
‘एक घर–एक धारा’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सबै खानेपानी योजनाको जीआईएस म्यापिङ, डिजिटल अभिलेखीकरण तथा पानीको गुणस्तर परीक्षण नियमित गरिनेछ। विद्युतीकरण नपुगेका सबै बस्तीमा विद्युत् विस्तार गरी आगामी वर्षभित्र सम्पूर्ण गाउँपालिकालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ।
गाउँफर्क अभियान
यसैगरी, ‘गाउँफर्क अभियान’ अन्तर्गत अन्यत्रबाट स्थायीरूपमा गाउँपालिकामा बसाइँसराइ गरी आउने नागरिकहरूलाई आकर्षित गर्न नगदसहित विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताए।
प्रस्तुत नीति तथा कार्यक्रमले गन्यापधुरालाई कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र प्रविधिमा आत्मनिर्भर तथा आधुनिक स्थानीय सरकारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।


