डडेल्धुरा: नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले विकासको नयाँ खाका सार्वजनिक गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि सारेको हो।
सोमबार गाउँसभाको २०औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समृद्ध नवदुर्गा निर्माणको दीर्घकालीन लक्ष्यसहित विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष अवस्थीले आगामी बजेटलाई समेत विकास निर्माणमै केन्द्रित गरिने स्पष्ट पारे। उनले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा र कृषि उत्पादन वृद्धि गर्ने योजनालाई विशेष प्राथमिकता दिइने बताए।
अध्यक्ष अवस्थीले सीमित स्रोत–साधन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पालिकाले नागरिकका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गरे। जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका विकास कार्यक्रममार्फत गाउँपालिकाको समग्र रूपान्तरण गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो।
पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई ग्रामीण विकास, सेवा प्रवाह सुधार र आर्थिक गतिविधि विस्तार गर्ने दिशामा महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।
आगामी बजेटमार्फत नीति तथा कार्यक्रममा समेटिएका योजनाहरू कार्यान्वयनमा ल्याइए नवदुर्गाको विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ।


