- प्रकाश पार्की
डडेल्धुरा: डडेल्धुराका सामुदायिक विद्यालयका विद्यार्थीहरू पढाइसँगै उत्पादन र प्राविधिक सीप सिक्न थालेका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराको अनुदान सहयोगमा सञ्चालित उद्यमशीलता विकास तथा प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत जिल्लाका तीन विद्यालयमा च्याउ खेती, आँपको अचार उत्पादन र विद्युत् वायरिङसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिएका छन्।
अमरगढी नगरपालिका–१० राँइस्थित सहश्रलिङ्ग माध्यमिक विद्यालयमा कक्षा ९ को विज्ञान तथा प्रविधि विषयको ‘च्याउ’ पाठलाई व्यवहारमा उतार्दै १०३ पोका च्याउ खेती सुरु गरिएको छ। कक्षा ९ र १० का ४० जना विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागितामा सञ्चालन भएको कार्यक्रमले विद्यालयलाई सिकाइको प्रयोगशालासँगै उत्पादन केन्द्रको रूपमा पनि चिनाउन थालेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख खडकबहादुर महताका अनुसार च्याउ खेतीका लागि सहश्रलिङ्ग माविलाई ९५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । उनले जिल्लाका तीन विद्यालयमा फरक–फरक उद्यमशीलता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
सहश्रलिङ्ग माविका प्रधानाध्यापक केशवराज पन्तका अनुसार विद्यार्थीलाई किताबको ज्ञानसँगै व्यवहारिक सीप सिकाउने उद्देश्यले च्याउ खेती सुरु गरिएको हो। ‘विद्यार्थीले किताबमा मात्रै च्याउबारे पढ्ने होइन, आफैं उत्पादन गरेर त्यसको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन्,’ उनले भने।
जेठ ३१ गते राखिएको च्याउ अब करिब २०–२१ दिनभित्र उत्पादन दिन थाल्ने अपेक्षा गरिएको छ। हाल प्रारम्भिक चरणमा विद्यालयको एक कक्षाकोठाभित्र खेती गरिएको भए पनि उत्पादन उत्साहजनक भए थप कोठामा विस्तार गर्ने तयारी भइरहेको प्रधानाध्यापक पन्तले जानकारी दिए।
उनका अनुसार गतवर्ष विद्यार्थीकै पहलमा १० पोका च्याउ उत्पादन गरिएको थियो। यसवर्ष भने कार्यक्रमले व्यापकरूप लिँदै १०३ पोकासम्म पुगेको हो। यसले विद्यार्थीहरूमा आत्मविश्वास, श्रमप्रतिको सम्मान र उद्यमशील सोचको विकास गरिरहेको प्रधानाध्यापक पन्तले बताए।
यस्तै, परशुराम नगरपालिका–१ सलौनस्थित भागेश्वर माविका विद्यार्थीहरूले उद्यमशीलताको अर्को उदाहरण प्रस्तुत गरेका छन्। विद्यालयका ६० जना विद्यार्थीले सामूहिक रूपमा ४ क्विन्टल आँपको अचार उत्पादन गरेका छन्। विद्यालयले उत्पादन गरेको अचारको बजारीकरणसमेत सुरु भइसकेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। विद्यार्थीले उत्पादनदेखि प्याकेजिङ र बिक्रीसम्मको प्रक्रिया सिक्दै आयआर्जनसँग जोडिने अवसर पाएका छन्।
त्यसैगरी सिद्धनाथ माध्यमिक विद्यालय, परशुराम नगरपालिका–१२ मा सञ्चालन गरिएको विद्युत् वायरिङसम्बन्धी सीपमूलक तालिमबाट ३५ जना विद्यार्थी लाभान्वित भएका छन्। तालिमले विद्यार्थीलाई प्राविधिक सीप प्रदान गर्दै भविष्यमा स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास लिइएको छ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महताले विद्यालय शिक्षालाई उत्पादन, सीप र उद्यमशीलतासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार विद्यार्थीलाई केवल परीक्षामुखी नभई जीवनोपयोगी ज्ञान र सीपयुक्त बनाउने लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको हो।
डडेल्धुराका विद्यालयहरूमा सुरु भएका यी अभ्यासहरूले अब शिक्षा केवल कक्षाकोठाको घेराभित्र सीमित नरही उत्पादन, व्यवसाय र आत्मनिर्भरतासँग जोडिन थालेको संकेत दिएका छन्। च्याउ खेती, अचार उत्पादन र प्राविधिक तालिमजस्ता कार्यक्रमले विद्यार्थीलाई भविष्यका उद्यमी र दक्ष जनशक्ति बनाउने आधार तयार गरिरहेको सरोकारवालाहरूको विश्वास छ।



