डडेल्धुरा: भागेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड २० लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले बजेट प्रस्तुत गर्दै संघीय तथा प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र गत वर्षको मौज्दातलाई आयको मुख्य स्रोतका रूपमा उल्लेख गरिन्।
बजेटअनुसार संघीय सरकारबाट प्राप्त हुने सशर्त चालु अनुदान १८ करोड ५१ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदान २ करोड ७२ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान ८ करोड ४८ लाख रुपैयाँ तथा राजस्व बाँडफाँटबाट ९ करोड ४४ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण, समपूरक तथा विशेष अनुदानमार्फत समेत बजेट व्यवस्थापन गरिएको छ।
व्ययतर्फ गाउँपालिकाले समपूरक कोष, गाउँपालिकास्तरीय योजना तथा कार्यक्रम, क्रमागत योजनाको निरन्तरता, विषयगत शाखा तथा क्षेत्रगत कार्यक्रम, वडागत योजना र चालु खर्चलाई प्राथमिकता दिएको छ।
बजेटमा गाउँपालिकास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड ८ लाख ५० हजार रुपैयाँ, क्रमागत योजनाका लागि २ करोड ७७ लाख रुपैयाँ, विषयगत शाखा तथा क्षेत्रगत कार्यक्रमका लागि ३ करोड ६२ लाख रुपैयाँ तथा वडागत योजनाका लागि १ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानका कार्यक्रमहरूका लागि सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

