डडेल्धुरा: डडेल्धुरामा घरमै प्रसूति हुने महिलाको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा घट्दै गएको पाइएको छ। स्वास्थ्य संस्थामा प्रसूति गराउने प्रवृत्ति बढ्दै जाँदा असुरक्षित घर प्रसूति क्रमशः न्यून हुँदै गएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराले शनिबार पत्रकार तथा स्वास्थ्यकर्मीहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा घरमै प्रसूति हुने महिलाको संख्या ९५ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर ४७ मा पुगेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को आंशिक विवरणअनुसार यो संख्या थप घटेर २२ मा सीमित भएको छ।
कार्यक्रममा भेक्टर कन्ट्रोल सुपरभाइजर निरीक्षक हरिप्रसाद भट्टले स्वास्थ्य कार्यालयले सञ्चालन गरेका सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम, जनचेतना अभियान तथा स्थानीय तहसँगको समन्वयका कारण संस्थागत प्रसूति बढ्दै गएको जानकारी दिए। उनका अनुसार दुर्गम बस्तीका महिलाहरूमा समेत स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्छ भन्ने चेतना विस्तार हुँदै गएको छ।
तथ्याङ्कले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत प्रसूति दर ८५ प्रतिशत पुगेको देखाएको छ। यद्यपि चालु आर्थिक वर्षको हालसम्मको विवरणमा संस्थागत प्रसूति दर ६२ प्रतिशत र दक्ष प्रसूतिकर्मीमार्फत हुने प्रसूति ६० प्रतिशत मात्रै रहेकाले शतप्रतिशत लक्ष्य हासिल गर्न अझै प्रयास आवश्यक रहेको स्वास्थ्य कार्यालयको निष्कर्ष छ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार संस्थागत प्रसूति गराउने आमामध्ये करिब १३ प्रतिशत २० वर्षमुनिका रहेका छन्। यसले बालविवाह तथा कम उमेरमै गर्भधारण गर्ने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको संकेत गरेको छ। शिशु तथा मातृ स्वास्थ्यका सूचकमा पनि केही सुधार देखिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा गर्भमै मृत्यु हुने शिशुको संख्या ३२ रहेकोमा हाल १८ मा झरेको छ। तर चालु आर्थिक वर्षमा नवजात शिशु मृत्यु १५ र मातृ मृत्यु ५ रहेको तथ्याङ्कले मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा अझै चुनौती बाँकी रहेको देखाउँछ।
कार्यक्रममा स्वास्थ्य कार्यालयले चालु वर्षमा सञ्चालन गरेका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा पनि प्रस्तुत गरेको थियो। कार्यालयका अनुसार एचपिभी खोप अभियानमार्फत १ हजार २८२ जना किशोरीलाई खोप लगाइएको छ भने प्रजनन स्वास्थ्य शिविरबाट १ हजार ४११ जना लाभान्वित भएका छन्। स्थायी बन्ध्याकरण शिविरमार्फत २६ जनाले सेवा लिएका छन् भने नसर्ने रोगको स्क्रिनिङ कार्यक्रमअन्तर्गत २४१ जनाको रक्तचाप, पिसाबमा प्रोटिन तथा सुगर परीक्षण गरिएको छ।
यसबाहेक स्थानीय तहका लागि औषधि खरिद, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य शाखा प्रमुखहरूसँग अन्तरपालिका समन्वय बैठक, नियमित खोप तथा औषधि ढुवानी, विभिन्न स्वास्थ्य दिवस आयोजना र स्वास्थ्य कार्यक्रमहरूको स्थलगत अनुशिक्षणलगायत गतिविधि सञ्चालन गरिएको जानकारी दिइएको थियो।
पब्लिक हेल्थ कार्यक्रमका लागि न्यून बजेट
स्वास्थ्य कार्यालयले मिडियाकर्मी तथा स्वास्थ्यकर्मीमार्फत स्वास्थ्यसम्बन्धी सही सन्देश समुदायसम्म पुर्याई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले बताए। उनले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको बताएका छन्।
घरमै प्रसूति हुने दर घट्नु, खोप अभियानको प्रभावकारी कार्यान्वयन, प्रजनन स्वास्थ्य सेवाको विस्तार तथा विभिन्न जनस्वास्थ्य कार्यक्रमहरूको सकारात्मक परिणामले स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको उनको भनाइ थियो। उनले भने, ‘स्वास्थ्यका सूचकहरूमा सुधार देखिए पनि पब्लिक हेल्थ कार्यक्रमका लागि प्रदेश सरकारले यस वर्ष अपेक्षाकृत न्यून बजेट विनियोजन गरेको छ। सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्यकर्मी र स्थानीय तहको सहकार्यले सकारात्मक उपलब्धि हासिल भएका छन्।’
प्रमुख साउँदले मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, नसर्ने रोग नियन्त्रण, खोप तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन पर्याप्त बजेट र स्रोतको आवश्यकता रहेको समेत औँल्याए। सरोकारवालाहरूले घरमै हुने प्रसूति दरलाई शून्यमा झार्न, मातृ तथा शिशु मृत्युदर घटाउन ग्रामीण क्षेत्रमा यातायात पहुँच, एम्बुलेन्स सेवा तथा बर्थिङ सेन्टरहरूको थप सुदृढीकरण आवश्यक रहेको बताएका थिए।



