डडेल्धुरा: लामो समयदेखि वर्षा नहुँदा खडेरीको चिन्ता बढिरहेका बेला डडेल्धुराको प्रसिद्ध धार्मिक शक्तिपीठ घटालथानमा पानीको कामना गर्दै जलधारा तथा विशेष पूजा अर्चना गरिएको छ।
शनिबार अमरगढी नगरपालिका–४ र ५ का खलङ्गावासीले बाजागाजासहित देउरो लिएर अमरगढी नगरपालिका–३ गैरीडोटीस्थित घटालथान पुगेका थिए। उनीहरूले घटाल बाबाको पूजा गर्दै पर्याप्त वर्षा होस् र पानीका मुहानहरू पुनः सक्रिय बनून् भन्ने कामनासहित जलधारा गरेका हुन्।
स्थानीय समुदायमा खडेरी तथा सुक्खायाममा वर्षा गराउन र पानीका स्रोत संरक्षणका लागि धार्मिक आस्थासँग जोडेर जलधारा गर्ने परम्परा रहँदै आएको छ। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित घटालथानमा प्राकृतिक विपद्, अनावृष्टि तथा पानीको अभाव भएका बेला सामूहिक रूपमा पूजा अर्चना र जलधारा गर्ने चलन रहेको छ।
स्थानीयका अनुसार घटाल बाबाको स्तुति गर्दै गरिने यस्ता धार्मिक अनुष्ठानले वर्षा हुन सहयोग पुग्ने तथा पानीका मुहान खुल्ने जनविश्वास रहिआएको छ। यस वर्ष पनि पर्याप्त वर्षा नहुँदा खानेपानीका स्रोत सुक्न थालेपछि स्थानीयवासीले परम्पराअनुसार घटालथानमा पूजा अर्चना र जलधारा गरेका हुन्।