Radio Unity 92.2MHz

एनआईसी एशिया बैंकले दियो भुवनेश्वरी मावि असुर्पालाई प्रोजेक्टर

डडेल्धुरा: शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ असुर्पास्थित भुवनेश्वरी माध्यमिक विद्यालयलाई दुई थान प्रोजेक्टर सहयोग गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यालयमा आयोजित कार्यक्रममा एनआईसी एशिया बैंक डडेल्धुरा शाखाका शाखा प्रबन्धक पदमराज भट्टले विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद भट्टलाई प्रोजेक्टर हस्तान्तरण गरेका हुन्।

वि.सं. २०२७ मा स्थापना भएको उक्त विद्यालयमा हाल प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्म करिब २०० विद्यार्थी अध्ययनरत छन्। बैंकबाट प्राप्त प्रोजेक्टरले कक्षाकोठामा प्रविधिमैत्री सिकाइ वातावरण सिर्जना गर्न तथा पठनपाठनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयले आधुनिक शिक्षण विधिको प्रवर्द्धनमा बैंकको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले विद्यार्थीको सिकाइ अनुभवलाई थप सहज र आकर्षक बनाउने विश्वास व्यक्त गरेको छ।

बैंकका अनुसार प्रविधिमा आधारित शिक्षाको विस्तारमार्फत विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो। एनआईसी एशिया बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...