डडेल्धुरा: डडेल्धुरामा दुईदिने विद्यालयका असल अभ्यासहरूको आदानप्रदान तथा प्रवर्द्धन कार्यक्रम सुरु भएको छ।
सुदूरपश्चिमका विद्यालयहरूमा भइरहेको उत्कृष्ट शैक्षिक अभ्यास, नवप्रयोग र सफलताका कथाहरूलाई साझा गर्दै शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ शुक्रबारदेखि उक्त कार्यक्रम सुरु भएको हो।
कार्यक्रममा डडेल्धुरा, डोटी, अछाम, बझाङ र कैलालीका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहभागी भएका छन्। कार्यक्रममा विद्यालयका उपलब्धि, चुनौती, अवसर र सुधारका उपायबारे गहन छलफल तथा प्रस्तुतीकरण भइरहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास निर्देशनालय दिपायलका महानिर्देशक दुर्गादत्त विष्टले समयअनुकूल र प्रविधिमैत्री शिक्षा आजको अपरिहार्य आवश्यकता भएको बताए। उनले शिक्षक तथा विद्यालय नेतृत्वलाई आफूले सिकेका ज्ञान, सीप र अनुभव सहकर्मीहरूसँग बाँड्दै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे।
‘हामी आफैं परिवर्तनका संवाहक बन्न सके मात्र विद्यालय र शिक्षामा गुणात्मक सुधार सम्भव हुन्छ,’ उनले भने, ‘हरेक विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन आवश्यक छ।’
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालयमा लागू गरिएका सफल अभ्यासहरू प्रस्तुत गरिरहेका छन्। यसक्रममा सुरुवातमा कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले विद्यालयको प्रेरणादायी अभ्यास सुनाएका थिए।
उनका अनुसार विद्यालयमा १ हजार ८ सय ९४ विद्यार्थी अध्ययनरत छन् भने विद्यार्थी उपस्थितिदर शतप्रतिशतको हाराहारीमा पुगेको छ। विद्यालयमा कुनै विद्यार्थी कक्षा छुटाउने अवस्था आए शिक्षकहरू घरमै पुगेर विद्यालय ल्याउने अभ्यास रहेको उनले बताए।
विद्यालय परिसरलाई हरियाली र आकर्षक बनाउँदै गुणस्तरीय शिक्षामा जोड दिइएको उल्लेख गर्दै प्रअ सिंहले सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने धारणा राखेका थिए।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका विद्यालय प्रमुखहरू एकै ठाउँमा भेला भई अनुभव साटासाट गरिरहेको यो कार्यक्रमलाई शिक्षा क्षेत्रको सुधार र नवप्रवर्तनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। शिक्षा क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

