डडेल्धुरा: गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सहसचिव नपठाई उपसचिव मीना अर्याललाई खटाएको छ। यससँगै डडेल्धुराको प्रशासनिक नेतृत्व अब उपसचिव तहकै अधिकारीले सम्हाल्नेछन्।
गृह मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार हाल मन्त्रालयमै कार्यरत अर्याललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो। गुल्मीकी अर्यालसँग तेह्रथुमको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेको अनुभव रहेको छ।
यसअघि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि कार्यालय नेतृत्वविहीन बनेको थियो। त्यसयता सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव अमरबहादुर वलीले प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सरकारले रिक्त पदमा पुनः सहसचिव नपठाई उपसचिव अर्याललाई जिम्मेवारी दिएपछि डडेल्धुराको प्रशासनिक नेतृत्व उपसचिवकै हातमा पुगेको छ। अर्यालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने भएपछि वली भने पुनः सहायक प्रमुख जिल्ला अधिकारीकै भूमिकामा फर्किने छन्।
कोइरालाको सरुवापछि सरकारले पुनः सहसचिव नपठाई उपसचिवलाई जिम्मेवारी दिएको भन्दै सामाजिक सञ्जाल र स्थानीय स्तरमा असन्तुष्टि व्यक्त हुन थालेको छ। कतिपयले राजनीतिक रूपमा महत्वपूर्ण जिल्लामध्ये एक मानिने डडेल्धुरालाई सरकारले कम प्राथमिकतामा राखेको टिप्पणी गरेका छन्।