डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा दुईदिने शिक्षक सम्मेलन सुरु भएको छ।
‘परिवर्तनको सुरुवात एउटै क्लिकबाट हुन्छ, आजै आईसीटी र एआई अपनाऔं, सिकाइलाई जीवन्त, सिर्जनशील र प्रभावकारी बनाऔं’ भन्ने नारासहित शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले शनिबारदेखि सम्मेलन सुरु भएको हो।
अमरगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा महेन्द्र माध्यमिक विद्यालय खलंगाको व्यवस्थापनमा सुरु भएको सम्मेलनले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिमैत्री र परिणाममुखी बनाउने अपेक्षा लिइएको छ।
सम्मेलनमा गणित र विज्ञान विषयका शिक्षकहरूबीच अनुभव आदानप्रदान, नवीन शिक्षण विधिको अभ्यास, कक्षाकोठामा आईसीटी तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, विद्यार्थी उत्प्रेरणा अभिवृद्धि तथा सिकाइ उपलब्धि सुधारका उपायहरूबारे गहन छलफल भइरहेको छ।
कार्यक्रममा अमरगढी नगरपालिकाका शिक्षा अधिकृत हेमन्तराज पन्तले शैक्षिक सत्र २०८२ को कक्षा ५, ८ र १० नतिजा सारांश प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएको नगरपालिकाभित्रका विद्यालयको शैक्षिक नतिजाले भने चिन्ताजनक अवस्था देखाएको छ।
शिक्षा अधिकृत पन्तकाअनुसार अमरगढी नगरपालिकाको कक्षा १० (एसईई) परीक्षाको नतिजा लगातार ओरालो लागिरहेको छ। २०८० सालमा ४४.९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०८१ मा ४१.२९ प्रतिशत र २०८२ मा झरेर ३६.१२ प्रतिशतमा सीमित भएको छ।
विशेषगरी गणित, विज्ञान र अंग्रेजी विषय विद्यार्थीका लागि चुनौतीपूर्ण बनेका छन्। एसईई २०८२ को नतिजाअनुसार नगरपालिकाभर सबैभन्दा बढी २०४ विद्यार्थीले गणितमा, १७७ जनाले विज्ञान तथा प्रविधिमा र ९६ जनाले अंग्रजीमा एनजी ल्याएका छन्। यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सम्मेलन केन्द्रित रहेको आयोजकको भनाइ छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले शिक्षक नै समाजलाई सही दिशामा डोर्याउने प्रमुख शक्ति भएको उल्लेख गर्दै शिक्षामा लगानी, अभिभावकको सक्रिय सहभागिता र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भएको बताए।
उनले पूर्वाधार निर्माण मात्र पर्याप्त नहुने, गुणस्तरीय शिक्षाको विस्तार र प्रविधिमैत्री सिकाइ प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
सम्मेलनमा सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उपप्राध्यापक महादेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरका उपप्राध्यापक कर्णदेव भट्ट तथा जनता मावि सकायलका शिक्षक गोविन्द धामीले प्रशिक्षण दिइरहेका छन्।
प्रशिक्षकहरूले एआई, डिजिटल शिक्षण सामग्री, अन्तरक्रियात्मक कक्षाकोठा र गणित, विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धिका नवीन अभ्यासबारे प्रशिक्षण प्रदान गरिरहेका छन् ।
महेन्द्र मावि शिक्षक अभिभावक संघकी अध्यक्ष लक्ष्मी बोगटीले सम्मेलनले शिक्षकहरूमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ सीप विकास गरी शैक्षिक गुणस्तर सुधारको अभियानलाई थप गति दिने विश्वास व्यक्त गरिन्।
नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको सम्मेलनलाई अमरगढीको शिक्षा सुधार अभियानको महत्वपूर्ण कोशेढुंगा रूपमा हेरिएको छ। शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई प्रविधि, नवप्रवर्तन र शिक्षकको प्रतिबद्धतामार्फत अवसरमा बदल्ने लक्ष्यसहित सम्मेलन अगाडि बढिरहेको शिक्षा अधिकृत पन्तले जानकारी दिए।


