डडेल्धुरा: सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पहिलोपटक व्यावसायिक कफी खेती सुरु भएको छ। भागेश्वर गाउँपालिका–४ शानस्थित सान एग्रो इस्टेटले २ हजार वटा अरबिका जातका कफीका बिरुवा रोप्दै जिल्लामै नयाँ कृषि सम्भावनाको ढोका खोलेको हो।
युवा कृषक दीक्षित भण्डारी, नितिन चटौत र निश्चल चटौतको पहलमा सुरु गरिएको कफी खेतीमा हालसम्म करिब १५ लाख रुपैयाँ लगानी भइसकेको छ। कफीका बिरुवा गुल्मीबाट ल्याएर रोपिएको सान एग्रो इस्टेटले जनाएको छ।
कफी खेतीलाई प्रवर्द्धन गर्न कृषि ज्ञान केन्द्र डडेल्धुराले विभिन्न सामग्री तथा अनुदानमार्फत सहयोग गरेको छ। कार्यालय प्रमुख नरेन्द्र पनेरुका अनुसार बिरुवा खरिदमा ५० प्रतिशत अर्थात् एक लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। साथै पाइप, मल तथा खाडल खन्ने मेसिन खरिदमा समेत सहयोग गरिएको छ।
यस्तै, कृषि विकास निर्देशनालयले पनि कफीका बिरुवा खरिदका लागि ९५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ। कृषि ज्ञान केन्द्रबाट उपलब्ध गराइएका ५० वटा आँप, २५ वटा लिची र ३० वटा कागतीका बिरुवा समेत फार्ममा रोपिसकिएको छ।
व्यावसायिक कफी उत्पादनका लागि आवश्यक छाहारी व्यवस्थापनको काम समेत गरिएको छ भने २० क्विन्टल गड्यौला मल प्रयोग गरिएको फार्मले जनाएको छ। रोपिएका बिरुवाले करिब तीन वर्षपछि उत्पादन दिन सुरु गर्नेछन्। एकपटक रोपिएको कफीको बिरुवाले झण्डै २५ वर्षसम्म उत्पादन दिने भएकाले यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा हेरिएको छ।
यसैबीच, बिहीबार कृषि ज्ञान केन्द्र डडेल्धुराको अगुवाइमा पत्रकारहरूको टोलीसहित सान एग्रो इस्टेटको संयुक्त स्थलगत अनुगमन गरिएको छ। अनुगमनका क्रममा कफी खेतीको अवस्था, सम्भावना र कृषकले गरिरहेको मेहनतबारे जानकारी लिइएको थियो।
सहभागीहरूले डडेल्धुरामा कफी खेतीको भविष्य उज्ज्वल रहेको भन्दै यस्ता कृषि उद्यमले युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
पहाडी हावापानी र उपयुक्त भूगोलका कारण डडेल्धुरामा कफी खेतीको राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख पनेरुले बताए। जिल्लामै पहिलोपटक सुरु भएको व्यावसायिक कफी खेती सफल भएमा अन्य युवाहरूलाई समेत कृषि उद्यमतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
