Radio Unity 92.2MHz

डडेल्धुरा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, ७ स्वास्थ्यकर्मी सम्मानित

  • प्रकाश पार्की

डडेल्धुरा: डडेल्धुरालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

जिल्ला पूर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका जनस्वास्थ्य निरीक्षक मिनराज जोशीले डडेल्धुरा जिल्लालाई प्रदान गरिएको पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदलाई हस्तान्तरण गरेका थिए।

कार्यालय प्रमुख साउँदका अनुसार डडेल्धुरा जिल्ला पहिलो पटक २०७२ साल पुस १० गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको थियो । त्यसयता प्रत्येक वर्ष निरन्तर रूपमा पूर्णखोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।

चालु वर्ष पनि आवश्यक प्रक्रिया पूरा गरी जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको कार्यालय प्रमुख साउँदले बताए । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हाल १३ वटा रोगविरुद्ध १४ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । डडेल्धुरामा हाल १०६ वटा खोप केन्द्रमार्फत प्रत्येक महिनाको २ गतेदेखि ८ गतेसम्म नियमित खोप सेवा सञ्चालन हुँदै आएको छ।

स्वास्थ्य कार्यालयका अनुसार २०८२ माघदेखि चैत्रसम्म सञ्चालन गरिएको घरधुरी सर्वेक्षणमा ० देखि १५ महिनासम्मका २ हजार १ सय ४५ बालबालिकामध्ये कुनै पनि शून्य डोजमा नभेटिएका थिए भने ३१ जना ड्रपआउट बालबालिका फेला परेका थिए।

यस्तै १६ देखि २३ महिनासम्मका १ हजार ३ सय ६९ बालबालिकामध्ये ३ जना शून्य डोज र ३४ जना ड्रपआउट बालबालिका भेटिएका थिए। पहिचान भएका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक खोप लगाइसकेपछि जिल्लाभर पूर्णखोप सुनिश्चितताको अवस्था कायम गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यस वर्ष सबैभन्दा पहिले आलिताल गाउँपालिकाले जेठ १९ गते र अन्तिममा अजयमेरु गाउँपालिकाले असार १३ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका थिए। त्यसपछि प्रदेशस्तरीय अनुगमन तथा प्रमाणीकरण प्रक्रिया सम्पन्न भएसँगै जिल्लास्तरीय घोषणा गरिएको कार्यालय प्रमुख साउँदले बताए।

घोषणा सभामा बोल्दै परशुराम नगरपालिकाकी उपप्रमुख विमला बोहरा महताले स्वास्थ्यकर्मीहरूको अथक मेहनत र समुदायको सहयोगका कारण बालबालिकाले समयमै पूर्ण खोप पाउन सफल भएको बताइन्। उनले खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरू दिनरात खटिएको उल्लेख गरिन्।

यस्तै, अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन राज्य गम्भीर हुनुपर्ने बताए। संघीयता कार्यान्वयनपछि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै स्थानीय तहले गरेका सकारात्मक कार्यको प्रचारप्रसारमा अझ ध्यान दिनुपर्ने धारणा राखे।

यसैगरी नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले पूर्णखोप अभियानलाई बालबालिकाको भविष्यसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा व्याख्या गर्दै यसको निरन्तरता र दिगोपनामा स्थानीय तह प्रतिबद्ध रहने बताए।

अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले खोपप्रति समाजमा रहेका भ्रम र नकारात्मक धारणा अन्त्य गर्न आवश्यक रहेको बताए। उनले खोपको महत्वबारे जनचेतना अभिवृद्धिका लागि व्यापक जनजागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

जिल्ला पूर्णखोप समन्वय समिति डडेल्धुराका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले वडा, पालिका हुँदै जिल्लासम्म पूर्णखोप सुनिश्चितता हासिल हुनु सबै सरोकारवालाको साझा उपलब्धि भएको बताए।

उनले आमा, शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्ध र सबल समाज निर्माण सम्भव हुने धारणा राखे।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकाय, शिक्षा क्षेत्र, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य संघ तथा विश्व स्वास्थ्य संगठन र युनिसेफलगायत विभिन्न निकायको महत्वपूर्ण योगदान रहेको कार्यक्रममा उल्लेख गरिएको थियो।

७ स्वास्थ्यकर्मी सम्मानित

कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूलाई सम्मान पनि गरिएको थियो। स्वास्थ्य कार्यालय डडेल्धुराले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्लाका सातवटै स्थानीय तहबाट एक–एक जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो।

सम्मानित हुनेमा अमरगढी नगरपालिकाको भजन्यौटा आधारभूत स्वास्थ्य केन्द्रकी सिनियर अनमी लक्ष्मीदेवी भट्ट, परशुराम नगरपालिकाको सलेता आधारभूत स्वास्थ्य केन्द्रकी अनमी सरस्वती जोशी, आलिताल गाउँपालिकाको आलिताल स्वास्थ्य चौकीका अहेव सुरेन्द्र चुनारा, भागेश्वर गाउँपालिकाको भागेश्वर स्वास्थ्य चौकीकी सिनियर अनमी गोमती शाही, अजयमेरु गाउँपालिकाको देवल दिव्यपुर स्वास्थ्य चौकीका सिनियर अहेव राजेन्द्र ठगुन्ना, नवदुर्गा गाउँपालिकाको चामाचौड आधारभूत स्वास्थ्य केन्द्रका सिनियर अहेव हर्कबहादुर विक र गन्यापधुरा गाउँपालिकाको गन्यापधुरा आधारभूत अस्पतालकी अनमी चन्द्रा मल्ल रहेका छन्।

त्यसैगरी, खोप कार्यक्रमको तथ्यांक व्यवस्थापन, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत जनक चन्दलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

स्थानीय तहको नेतृत्व, समुदायको सहभागिता र नियमित अनुगमनलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

        

 

सम्बन्धित पाेष्टहरु
Loading...