Radio Unity 92.2MHz

डडेल्धुरामा आलु खेतीको क्षेत्रविस्तार ८२७ प्रतिशतले बढ्यो

डडेल्धुरा: जिल्लामा पछिल्लो १० वर्षमा आलु खेतीको क्षेत्रविस्तारमा उल्लेखनीय वृद्धि भएको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत १० वर्षमा आलु खेतीको क्षेत्रफल ८२७ प्रतिशतले बढेको हो।

आलु जोन हुँदै सुपर जोनका रूपमा परियोजना सञ्चालन सुरु हुँदा १२१ हेक्टरमा मात्र सीमित रहेको आलु खेती विस्तार भएर हाल १,१२२ हेक्टर पुगेको कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए। डडेल्धुरामा आलुको उत्पादकत्व प्रतिहेक्टर ३३.५० मेट्रिक टन पुगेको छ, जुन राष्ट्रिय औसत १७.२० मेट्रिक टनभन्दा झण्डै दोब्बर बढी हो।

परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा सोमबार जिल्लास्थित सरोकारवालासँग परियोजनाले गरेका कामबारे छलफल गरिएको छ। जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परियोजनाले दशकभरिमा हासिल गरेका उपलब्धि, चुनौती तथा आगामी योजनामाथि विस्तृत समीक्षा गरिएको थियो।

कृषिको आधुनिकीकरण, बजारीकरण तथा पूर्वाधार विकासका लागि १० वर्षमा ४२ करोड रुपैयाँ लगानी गरिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए। उनका अनुसार यस अवधिमा ५५० वटा साना तथा मझौला सिँचाइ आयोजना निर्माण तथा स्तरोन्नति गरिएकाले किसानलाई वर्षभरि खेती गर्न सहज भएको छ।

उन्नत बीउ, सिँचाइ, यान्त्रिकीकरण तथा प्रविधि विस्तारका कारण उत्पादनमा ३०.८३ प्रतिशत वृद्धि भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ। आलु उत्पादनसँगै किसानहरूको आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षमा मात्रै डडेल्धुराबाट २,०४७.५ क्विन्टल बीउ आलु विभिन्न जिल्लामा बिक्री हुँदा किसानहरूले १ करोड ३३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

साथै, प्रतिकिलो दुई रुपैयाँ भण्डारण अनुदानका कारण हाल ३५० मेट्रिक टन आलु नियमित रूपमा शीत भण्डारमा राख्ने व्यवस्था भएको छ। समीक्षामा भटमास, अदुवा, बेसार, तरकारी तथा सुन्तलाजात फलफूलको व्यावसायिक खेती विस्तार भएको तथ्य पनि प्रस्तुत गरिएको थियो।

आगामी वर्षका लागि आलुको बीउवृद्धि कार्यक्रम, मूल बीउ उत्पादनका लागि पूर्वाधार निर्माण सहयोग, आलु खेतीको क्षेत्र विस्तार तथा उद्यमशीलता प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख बस्नेतले जानकारी दिए। कार्यक्रममा जिल्लाका स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रम तथा स्थानीय तहका नियमित कृषि कार्यक्रमहरूको समेत प्रस्तुति गरिएको थियो।

सरोकारवालाहरूले परियोजनाले कृषि क्षेत्रमा यान्त्रिकीकरण, सिँचाइ विस्तार र व्यावसायिक खेतीको संस्कृतिलाई बलियो बनाउँदै डडेल्धुरालाई कृषि उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न उल्लेखनीय योगदान दिएको बताएका छन्। आगामी कार्ययोजनामा वास्तविक ग्रामीण क्षेत्रका किसानलाई समेटेर कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझावसमेत सहभागीहरूले दिएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...