Radio Unity 92.2MHz

बगरकोट–डिमोला–भद्रपुर सडक स्तरोन्नति हुँदै, सडक क्षेत्रभित्र संरचना नबनाउन आग्रह

डडेल्धुरा: अजयमेरु गाउँपालिकाले बगरकोट–डिमोला–भद्रपुर सडक स्तरोन्नति कार्य सुरु हुन लागेकाले सडक क्षेत्रभित्र कुनै पनि किसिमका संरचना तथा गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत अजयमेरु गाउँपालिकालाई जोड्ने बगरकोट–डिमोला–भद्रपुर सडकको शून्यदेखि ८ दशमलव ७ किलोमिटरसम्म स्तरोन्नति गरिने भएको हो।

मंगलबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडकको प्रभाव क्षेत्र दायाँ–बायाँ ४ दशमलव २५–४ दशमलव २५ मिटरभित्र खेतीबाली लगाउने, कुलो–कुलेसा तथा खानेपानीका धारा निर्माण गर्ने, बिजुलीका पोल गाड्ने, पशु चौपाया बाँध्ने, तगारो तथा प्रवेशमार्ग बनाउने, व्यापार–व्यवसाय सञ्चालन गर्ने, घर, टहरा, गोठ तथा खोर निर्माण गर्ने लगायतका गतिविधि नगर्न अनुरोध गरेको छ।

त्यसैगरी गिट्टी, बालुवा, इँटा लगायत निर्माण सामग्री थुपार्ने वा राख्ने कार्यसमेत नगर्न गाउँपालिकाले चेतावनी दिएको छ। प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाद्वारा हस्ताक्षरित सूचनाको बेवास्ता गरी सडकको क्षेत्राधिकारभित्र यस्ता गतिविधि सञ्चालन गर्दा हुने क्षतिको जिम्मेवारी गाउँपालिका वा आयोजना पक्षले नलिने तथा कुनै किसिमको क्षतिपूर्ति वा सहयोग उपलब्ध गराउन नसकिने स्पष्ट पारिएको छ।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले बगरकोट–डिमोला–भद्रपुर सडक स्तरोन्नति आयोजना अजयमेरुवासीको लामो समयदेखिको सपनासँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताए।

उनले सडक स्तरोन्नति सम्पन्न भएपछि गाउँपालिकाको यातायात पहुँच, आर्थिक गतिविधि तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्दै भने, ‘वर्षौंदेखि देखिएको विकासको सपना अब सार्थक हुने दिशातर्फ अघि बढेको छ।’

अध्यक्ष भट्टले आयोजना सफल बनाउन स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सडक क्षेत्रभित्र अनधिकृत संरचना निर्माण तथा अवरोध सिर्जना नगर्न सबैसँग आग्रह गरेका छन्।

हेर्नुहोस् पालिकाले जारी गरेको सूचना– 

 

 

सम्बन्धित पाेष्टहरु
Loading...