Radio Unity 92.2MHz

डडेल्धुरा जिल्ला खेलकुद समितिले पायो पूर्णता, पदाधिकारी र सदस्यले लिए सपथ

डडेल्धुरा: डडेल्धुरा जिल्ला खेलकुद समितिले नयाँ नेतृत्वसहित पूर्णता पाएको छ। आइतबार नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको पदस्थापन र सपथ ग्रहणसँगै समितिले पूर्णता पाएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा जगतबहादुर ऐर, उपाध्यक्षमा दिलबहादुर बोहरा र कोषाध्यक्षमा निरञ्जन रावल चयन भएका छन्। यस्तै सदस्यहरूमा लक्ष्मण नेगी, रमेश शाह, किरण ऐर, नरेश भाट, निशा कार्की र हरिकला गुरुङ रहेका छन्।

आइतबार आयोजित कार्यक्रममा अध्यक्ष जगतबहादुर ऐरले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन्। सपथपछि अध्यक्ष ऐरले सबै पक्षलाई समेटेर समिति गठन गरिएको बताउँदै खेलकुद क्षेत्रको विकासका लागि आफूहरू एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नयाँ समिति गठनमा कुनै पनि राजनीतिक पूर्वाग्रह नराखिएको दाबी गर्दै जिल्लाको खेलकुदलाई व्यवस्थित, गतिशील र परिणाममुखी बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए। अध्यक्ष ऐरले डडेल्धुरालाई सुदूरपश्चिममै खेलकुदको आकर्षक केन्द्र अर्थात् खेलकुद हब बनाउने लक्ष्यका साथ समिति अघि बढेको जानकारी दिए।

जिल्लामा व्यवस्थित र स्तरीय खेलमैदानको आवश्यकता रहेकाले त्यसका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने बताए । खेलाडी र खेलप्रेमीका लागि पर्याप्त पूर्वाधार निर्माण गर्न स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरिने उनको भनाइ छ।

डडेल्धुराको ऐतिहासिक टुँडिखेललाई अझ व्यवस्थित र उत्कृष्ट खेलमैदानका रूपमा विकास गर्ने योजना समेत समितिले अघि सारेको उनले बताए। टुँडिखेलको संरक्षण, स्तरोन्नति र आवश्यक खेल पूर्वाधार थप गर्दै जिल्लाको प्रमुख खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष ऐरले बताए। उनले योजनालाई केवल घोषणामा सीमित नराखी स्पष्ट बजेट र कार्ययोजनासहित प्राथमिकताका आधारमा काम अघि बढाउने जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सीमित बजेटका बीच पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा सम्बन्धित पक्षको प्रशंसा गरे। उनले युवालाई दुव्र्यसनबाट टाढा राख्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

अध्यक्ष अवस्थीले जिल्लामा नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्न आग्रह गर्दै हरेक महिना विभिन्न विधाका खेलकुद प्रतियोगिता आयोजना गर्न नयाँ समितिलाई सुझाव दिए। खेलकुद प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

उनले नयाँ जिल्ला खेलकुद समितिले विगतका समितिभन्दा फरक र उदाहरणीय काम गरेर आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिए। ‘युवाको ऊर्जा खेलमैदानमा लगाउन सकियो भने समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। त्यसैले खेलकुदलाई प्रतियोगितामा मात्र सीमित नराखी युवाको व्यक्तित्व विकास र दुव्र्यसन न्यूनीकरणको माध्यमका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लाको खेलकुद विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।

उनले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै स्थानीय तहहरूले समेत खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

जिल्ला प्रशासनले खेलकुद क्षेत्रको विकास तथा खेल पूर्वाधार निर्माणमा आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ।

नयाँ नेतृत्व आएसँगै जिल्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने, खेलाडीको क्षमता पहिचान तथा विकास गर्ने, नियमित प्रतियोगिता सञ्चालन गर्ने र आवश्यक खेल पूर्वाधार निर्माणका लागि पहल गर्ने अपेक्षा गरिएको छ।

डडेल्धुरामा पछिल्लो समय विभिन्न खेल विधाप्रति युवाको आकर्षण बढ्दै गएको अवस्थामा नयाँ खेलकुद समितिसामु जिल्लाका प्रतिभावान खेलाडीलाई अवसर दिने, स्थानीय तहसँग समन्वय बढाउने र जिल्लालाई प्रदेश तथा राष्ट्रियस्तरमा चिनाउने चुनौती र अवसर दुवै रहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...