Radio Unity 92.2MHz

भागेश्वरमा पालिकास्तरीय बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा पन्त

डडेल्धुरा: भागेश्वर गाउँपालिकास्तरीय बाल क्लब सञ्जाल पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार भागेश्वर गाउँपालिका–४ बगरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकास्तरीय बाल सञ्जाललाई पुनर्गठन गर्दै २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

पुनर्गठित बाल सञ्जालको अध्यक्षमा यज्ञराज पन्त, उपाध्यक्षमा विनय सेराल, सचिवमा आयुष भट्टराई, सहसचिवमा पुष्पा नाथ र कोषाध्यक्षमा जीवन थापामगर चयन भएका छन्। वरिष्ठ सदस्यमा अस्मिता भण्डारी र विपना गिरी रहेका छन्।

सदस्यहरूमा सुनिल ओड, सुशीलप्रसाद ओझा, अमित सार्की, देवेन्द्र नाथ, सरस्वती थापामगर, माया जैशी, सुशीला दमाई, ओमप्रकाश जोशी, लोकराज जोशी, रोसन सार्कीलगायत रहेका छन्।

भागेश्वर गाउँपालिकाको सहकार्य तथा लू निभा बाल सरोकार समूहको सहयोगमा पालिकास्तरीय बाल क्लब सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा माध्यमिक तथा आधारभूत तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लू निभा बाल सरोकार समूहका जिल्ला कार्यक्रम संयोजक धर्मसिंह ऐरले बाल अधिकारको अवधारणा, विद्यालयमा बालअधिकारको आवश्यकता तथा बालबालिकाले पाउने संवैधानिक र कानुनी अधिकारबारे प्रकाश पारेका थिए।

उनले बालअधिकार नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हकसँगै कानुनद्वारा प्रत्याभूत अधिकारसमेत भएकाले यसको संरक्षण र कार्यान्वयनमा विद्यालय, परिवार, समुदाय तथा स्थानीय सरकार सबैको महत्वपूर्ण भूमिका रहने बताए।

लू निभा बाल सरोकार समूहका जिल्ला कार्यक्रम अधिकृत जगदीश चुनाराले बाल क्लबको परिचय, उद्देश्य तथा बाल क्लबका पदाधिकारी र सदस्यहरूको काम, कर्तव्य र जिम्मेवारीबारे अभिमुखीकरण दिएका थिए। उनले बाल क्लबलाई बालबालिकाको नेतृत्व विकास, सहभागिता र अधिकार संरक्षणको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताए।

कार्यक्रममा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले पढाइसँगै बालबालिकाको सामाजिक विकास र समुदायप्रतिको भूमिकासमेत महत्वपूर्ण रहेको बताए। बालबालिकालाई आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत बनाउँदै नेतृत्व विकासमा अवसर दिनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष चटौतले लू निभा बाल सरोकार समूहले बालबालिकाको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिका र सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो।

कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकारप्रति सचेत बनाउनुका साथै नेतृत्व क्षमता विकास, सहभागिता र सामाजिक उत्तरदायित्व बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...