Radio Unity 92.2MHz

खगराज भट्ट : भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा एमालेले समर्थन गरेको छ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए।

तोकिएको समयभित्रै भट्टले एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस गरेपछि प्रदेश प्रमुखले आवश्यक प्रक्रिया पूरा गरी उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म

खगराज भट्टको जन्म वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला पुत्रका रूपमा भएको हो। उनले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन्।

उनको स्थायी घर अजयमेरु गाउँपालिका–४, चौडी, डडेल्धुरा हो। भट्टले किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनसँग आफूलाई जोडे। डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भट्टको राजनीतिक यात्रा लामो संघर्ष र भूमिगत राजनीतिबाट सुरु भएको हो।

उनले वि.सं. २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएका थिए। २०५० सालमा पार्टीको पूर्णकालीन सदस्य हुँदै डडेल्धुरा जिल्ला सदस्य बनेका भट्ट २०५२ सालमा राज्यविरुद्ध अपराध मुद्दामा पक्राउ परी जेलसमेत परेका थिए।

वि.सं. २०५२ देखि २०६३ सम्म तत्कालीन माओवादीको जनयुद्धका क्रममा भूमिगत रहेका भट्टले पार्टीको जिल्ला सेक्रेटरी, दार्चुला–बैतडी जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा सेती–महाकाली राज्यसमिति सचिवलगायतका जिम्मेवारी सम्हालेका थिए।

उनले २०६४, २०७० र २०७४ सालमा डडेल्धुराबाट संविधानसभा तथा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडेका थिए। ती निर्वाचनमा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी बनेका थिए।

नेकपा गठनपछि २०७६ सालमा सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बनेका भट्ट २०७८ मा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्ज बने। २०७९ सालको प्रदेशसभा निर्वाचनमा डडेल्धुरा–१ (१) बाट प्रत्यक्ष निर्वाचित भएपछि उनी प्रदेशसभामा प्रवेश गरेका थिए। २०८० सालमा उनी संसदीय दलको नेता तथा माओवादी केन्द्रको स्थायी समिति सदस्य बनेका थिए।

मुख्यमन्त्रीका रूपमा भट्टले सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन्। कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई समेत उनले आफ्नो प्राथमिकताका रूपमा अघि सारेका छन्।

भट्टले आफूलाई जनताले सादगी, विकासप्रेमी र सुशासनको अभियन्ताका रूपमा चिनून् भन्ने चाहना व्यक्त गर्दै आएका छन्। नेकपा सांसदका अनुसार नवनियुक्त मुख्यमन्त्री भट्टको शपथ ग्रहण कार्यक्रम शुक्रबार दिउँसो ३ बजेका लागि तयारी गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...