डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चौबिस घण्टा काम गरेर भए पनि भदौ मसान्तभित्र प्रदेशको नयाँ बजेट ल्याउने बताएका छन्।
बुधवार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले लामो समयदेखि देखिएको बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने जानकारी दिए।
उनले विगतका बेथिति र कमजोरीलाई सच्याउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताए। जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई बजेटमा समेटिने उनको भनाइ छ।
‘जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट आउँछ,’ मुख्यमन्त्री भट्टले भने, ‘राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गर्छौँ।’
शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायत प्रदेशका महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेर देखिने र महसुस गर्न सकिने परिवर्तन ल्याउने गरी बजेट निर्माण गरिने उनको दाबी छ।
उनले दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता, भावना र योजनालाई प्राथमिकताका साथ सम्बोधन गरिने जानकारी दिए। विगतका कमजोरी सच्याउँदै प्रदेशको आवश्यकता र जनताको अपेक्षाका आधारमा प्राथमिकता निर्धारण गरेर बजेट अघि बढाइने उनले बताए।
यसैगरी, मुख्यमन्त्री भट्टले दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिए। प्रदेशका महत्वपूर्ण तथा रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ। प्रदेश राजधानी निर्माणको कामसमेत चालु आर्थिक वर्षदेखि सुरु गर्ने मुख्यमन्त्री भट्टले बताए।
राजधानी निर्माण भौतिक संरचना निर्माणमा मात्रै सीमित नभई सुदूरपश्चिमको मौलिकता र पहिचान स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने उनले स्पष्ट पारे। नयाँ बजेटमार्फत विगतका अभ्यास र कमजोरीलाई सुधार गर्दै प्रदेशको विकासमा नयाँ आयाम थपिने मुख्यमन्त्री भट्टले दाबी गरे।
