Radio Unity 92.2MHz

गन्यापधुराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख सहयोग गर्ने

डडेल्धुरा: रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बाढी तथा पहिरोपीडितको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँपालिकाका अनुसार सहयोग रकम जनप्रतिनिधि तथा पालिकाअन्तर्गतका कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत स्थायी, करारलगायत सम्पूर्ण कर्मचारीको भदौ महिनाको पारिश्रमिकबाट कटौती गरी जम्मा गरिनेछ।

यस्तै, भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका गन्यापधुरा गाउँपालिका–१ मतकट्टेका सुरज महताको खोजी तथा उद्धारका लागि परिवारलाई १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, गन्यापधुरा गाउँपालिकाबाट बसाइँसराइ गरी कृष्णपुर नगरपालिका क्षेत्रमा बस्दै आएका हिक्मतबहादुर पाल र रमेशराज जोशीका परिवारलाई खोजी तथा उद्धारका लागि जनही २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाले गाउँपालिका परिवारलाई मर्माहत बनाएको भन्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...