Radio Unity 92.2MHz

कांग्रेस डडेल्धुराका सभापति साउँदको निर्माण कम्पनी फेरि कालोसूचीमा, तीन वर्ष प्रतिबन्ध

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद मुख्य व्यक्ति रहेको निर्माण कम्पनी फेरि सरकारी कालोसूचीमा परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित बराह डेभलपर्स प्रालि (साविक राजेन्द्र निर्माण सेवा प्रालि) लाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो।

कार्यालयले अछामको कमलबजार नगरपालिकाको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। कार्यालयको २०८३ असोज २६ गतेको निर्णयअनुसार प्रकाशित सूचनासँगै कम्पनीमाथिको कारबाही लागू भएको छ।

यसअघि पनि यही निर्माण कम्पनी पुरातत्त्व विभागको सिफारिसमा २०८१ फागुनमा एक वर्षका लागि कालोसूचीमा परेको थियो। पछिल्लो निर्णयसँगै कम्पनीले तोकिएको तीन वर्षको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन।

साविक राजेन्द्र निर्माण सेवाले सुदूरपश्चिमका विभिन्न जिल्लामा ठेक्का लिएर आयोजना अलपत्र पारेको छ। राजनीतिक पहुँचका आधारमा ठेक्का हात पार्ने तर समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीका रूपमा समेत साविक राजेन्द्र निर्माण सेवा विवादमा पर्दै आएको छ।

सार्वजनिक निर्माणका आयोजना समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष असर विकास निर्माण र नागरिकले पाउने सेवामा पर्ने गरेको छ। एउटै कम्पनी पटक–पटक कालोसूचीमा पर्नुले सार्वजनिक खरिद प्रक्रियामा निर्माण व्यवसायीको जवाफदेहिता र ठेक्का सम्झौता कार्यान्वयनको प्रभावकारितामाथि थप चासो बढाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...