Radio Unity 92.2MHz

१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनोट प्रतियोगिता सुरु, २४८ खेलाडी छानिने

डडेल्धुरा: १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै डडेल्धुरामा जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ।

कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो।

अमरगढी नगरपालिका–४ टुँडिखेलमा प्रतियोगिताको शनिबार प्रतिनिधिसभा सदस्य एवं महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले उद्घाटन गरेकी छन्।

उद्घाटन कार्यक्रममा उनले खेलकुदमा महिला खेलाडीको सहभागिता बढाउनुपर्ने र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताइन्।

अनुशासन, निरन्तरता र मिहिनेतले मात्रै सफल खेलाडी बन्न सकिने उल्लेख गर्दै उनले पदक जित्न पूर्वाधार, लगानी र आत्मबल आवश्यक रहेको बताइन्।

जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिताबाट उत्कृष्ट खेल प्रतिभाको पहिचान गरिने र छनोट प्रक्रिया निष्पक्ष बनाइने बताए।

उनले खेलाडीलाई अनुशासनपूर्वक प्रतिस्पर्धा गर्न आग्रह गर्दै जिल्लाबाट स्वर्ण पदक जित्ने खेलाडीलाई व्यक्तिगत रूपमा १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे। उनले जिल्लामा आवश्यक खेलकुद पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै त्यसको विकासका लागि सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए।

उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष बासु जोशीले डडेल्धुराले पटक–पटक प्रधानमन्त्री र अहिले मुख्यमन्त्रीसमेत पाउँदा पनि खेलकुद पूर्वाधार विकास हुन नसकेको बताए।

जिल्लामा प्रशिक्षकको अभाव रहेको र खेलाडीहरू आफ्नै लगानीमा खेल जीवन अघि बढाउन बाध्य रहेको उनको भनाइ थियो। उनले खेलाडीको भविष्य सुनिश्चित गर्न आवश्यक रहेको पनि औँल्याए।

प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले चुनौतीका बाबजुद खेलाडीले लगनशीलता, आत्मविश्वास र निरन्तर प्रदर्शनमा ध्यान दिनुपर्ने बताए। उनले खेलाडी छनोट निष्पक्ष बनाउन आग्रह गर्दै छनोट प्रक्रियामा आफ्नो विशेष निगरानी रहने उल्लेख गरे।

डडेल्धुरा जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीका अनुसार प्रतियोगिताका १७ विधामा ४३५ खेलाडीले नाम दर्ता गराएका छन्। तीमध्ये प्रदेशस्तरीय छनोटका लागि २४८ खेलाडी सहभागी हुनेछन्।

प्रतियोगितामा भलिबल, खोखो, ह्यान्डबल, क्रिकेट, टेबलटेनिस, तेक्वान्दो, कराँते, बास्केटबल, उसु, कबड्डी, बुद्धिचाल, एथलेटिक्स, फुटबल, बक्सिङ, आईटीएफ तेक्वान्दो, बुदोकैदो फुलकन्ट्याक्ट कराँते र ब्याडमिन्टन खेल समावेश छन्।

यीमध्ये केही खेल महिला तथा पुरुष दुवै समूहमा र केही पुरुषतर्फ मात्र सञ्चालन हुनेछन्। डडेल्धुराबाट छनोट हुने खेलाडीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

 

सम्बन्धित पाेष्टहरु
Loading...