Radio Unity 92.2MHz

डडेल्धुरामा अब भलिबल प्रतियोगिता गर्न संघको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने

डडेल्धुरा: डडेल्धुरा जिल्लाभित्र भलिबल प्रतियोगिता आयोजना गर्न जिल्ला भलिबल संघको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।

जिल्ला भलिबल संघ डडेल्धुराको कात्तिक १३ गते बसेको बैठकले जिल्लाभित्र आयोजना हुने कुनै पनि भलिबल प्रतियोगिता सञ्चालन गर्नुअघि आयोजकले संघबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने निर्णय गरेको हो।

संघले जिल्लाका सातवटै स्थानीय तह, ५२ वटै वडा कार्यालय, खेलकुद विकास समिति, क्लब, संघसंस्था तथा प्रतियोगिता आयोजकलाई निर्णय कार्यान्वयन गर्न सूचित गरेको छ।

संघको स्वीकृति लिएर सञ्चालन हुने प्रतियोगितामा आवश्यकताअनुसार प्राविधिक टोली, रेफ्री तथा अन्य अफिसियल उपलब्ध गराउने व्यवस्था मिलाउन कार्यविधि निर्माण गर्ने निर्णयसमेत गरिएको छ।

संघको पूर्वस्वीकृतिबिना आयोजना हुने प्रतियोगितामा सहभागी रेफ्री, अफिसियल र खेलाडीका कारण उत्पन्न हुन सक्ने समस्या वा विवादमा संघ जवाफदेही नहुने सूचनामा उल्लेख छ।

त्यस्तै, संघको निर्णय र निर्देशन बेवास्ता गरी सञ्चालन हुने प्रतियोगितामा सहभागी रेफ्री तथा खेलाडीलाई संघका आधिकारिक प्रतियोगितामा सहभागी गराउने विषयमा आवश्यक कारबाही तथा निर्णय गरिने चेतावनी पनि दिइएको छ।

जिल्लाभित्र भलिबल खेलको व्यवस्थित सञ्चालन, गुणस्तर अभिवृद्धि, प्राविधिक व्यवस्थापन र अनुशासन कायम गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको संघले जनाएको छ।

संघका अध्यक्ष धर्मराज पन्त र महासचिव पुष्करबहादुर देउवाद्वारा जारी सूचनाको बोधार्थ जिल्ला खेलकुद विकास समिति, जिल्लाका सातवटै स्थानीय तह र ५२ वटै वडा कार्यालयलाई दिइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...