डडेल्धुराः सुदूरपश्चिमका ८ जिल्लामा शुक्रबार एमालेको अधिवेशन सुरु भएको छ। बझाङबाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनका लागि अधिवेशन भइरहेको हो ।
अधिकांश जिल्लामा अध्यक्षका लागि धेरै आकांक्षी देखिएपछि सहमतिको प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ।
डडेल्धुरामा नेकपा एमालेको आठौं जिल्ला अधिवेशन सुरु भएको हो । शुक्रबार जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले गरेका हुन् ।
जिल्ला इञ्चार्जसमेत रहेका प्रमुख अथिति बोहराले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टीलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो । उद्घाटन सत्र सकिएपछि नेताहरू एमालेको नेतृत्व चयनका लागि आन्तरिक छलफलमा व्यस्त छन् ।
नेकपा एमालेमा अध्यक्षका लागि ४ जनाले आकांक्षी देखिएका छन् । एमाले डडेल्धुराका वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही, प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पालसहित ४ नेता अध्यक्षमा आकांक्षी हुन् । सहमति प्रयास भइरहेको र सहमति नभए चुनावी प्रक्रियाबाट अध्यक्ष चयन हुने एक नेताले बताएका छन् ।
यस्तै, बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी देखिएका छन् । पार्टीले सहमति गरेमा दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् । तर उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्ष बन्ने चाहना बनाएका छन् ।
बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनीसँगै चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकांक्षी छन्।
कैलाली जिल्लाको नेतृत्वका तीन जना आकांक्षी छन् । नेता रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले इच्छा देखाएका हुन्। कञ्चनपुरको नेतृत्व छनोटका लागि पनि तीन जनाले दाबेदारी पेश गरेका छन् । जिल्लामा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्द अध्यक्षमा आकांक्षी छन् ।