Radio Unity 92.2MHz

भुवनेश्वरी नमूना मावि परिगाउँबाट अबैध काठ बरामद

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना मावि परिगाउँको परिसर भित्र अबैध रूपमा काटिएको काठ बरामद गरिएको छ। डिभीजन वन कार्यालय डडेल्धुराले सिसम र हल्दोका गरि १८८.८० क्युफिट काठ बरामद गरेको हो।

प्रारम्भिक विवरण अनुसार सिसमका ८ र हल्दोका दुई रूख काटिएको पाइएको अनुसन्धान अधिकृत सन्तोष भट्टले बताए। उनका अनुसार सिसमका ८ रूखको ४५.०६ क्युफिट काठ र हल्दोको १४३.७४ क्युफिट काठ बरामद गरिएको हो।

विद्यालयमा भवन निर्माणका लागी टेक्का सम्झौता भएको र भवन बनाउने स्थानमा एउटा सिसिमको रुख परेकाले जरा सहित उखेको बिद्यालयका प्रध्यानाध्यापक डम्बर सिंह थ्वालले बताए। उनले वडा कार्यालयबाट रुख कटानका लागी वन कार्यालयलाई सिफरिस गरे पनि वन कार्यालयको निर्णय अघि नै केही रुखहरू कटान गरेको बताए।

सिसम, साल, खयर र हल्दोका साना ठूला गरि धेरै रूख कटान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य केशव नाथले बताए। रूख काट्ने विषयमा आफूलाई कुनै जानकारी नै नभएको र प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा रूख कटान गरिएको उनको भनाइ छ।

‘धेरै रूख कटान भएको छ। विद्यालयको प्रयोजनको लागि काटिएको होइन्। यदि विद्यालयको प्रयोजनका लागि कटान हुन्थ्यो भने मलाई पनि जानकारी हुनुपथ्यो। तर, जानकारी नै छैन्,’ उनले भने, ‘कटान गरिएका रूखका काठ राती नै डोजर प्रयोग गरि खाडलमा पुर्ने काम भएको छ। कतिपय काठ नजिकैका स्थानीयको घरमा लुकाएर राखिएको छ।’

डिभीजन वन कार्यालयले देखाउनको लागि मात्रै काठ बरामद गरेको उनी बताउँछन्। परशुरामधाम सब डिभीजन कार्यालय जोगबुडाका कर्मचारीले मौखिक रुपमा रूख कटान गर्न अनुमति दिएको स्थानीय बताउँछन्। काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभीजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयमको देखाउन खोजेको उनीहरूको भनाइ छ।

विद्यालयले रूख कटान गरेपछि आफूले तीन हजार रूपैयाँ हालेर दाउरा खरिद गरेको स्थानीय हरि नाथले बताए। रूख कटान गरिएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालयले भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई नियन्त्रणमा लिएको छ।

डिभीजन वन कार्यालयको अनुमति बिना विद्यालय परिसर भित्रका सिसम लगायतका रुखहरू अवैध कटान गरिएपछि उनीहरूलाई सोधपुछ गर्न नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।